
नारायण ढुंगाना (रासस)
चितवन, साउन ३१ । गत वर्षदेखि नेपालमा आधिकारिकरुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट सोमबारसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ ।
चितवनसहित भोजपुर र संखुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो ।
कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी एक महिलाको उक्त रोगका कारण मृत्यु भएको सोमबारमात्रै पुष्टि भएको जानकारी दिए ।
यसअघि, धरानमा उपचार गरिएका संखुवासभा र भोजपुरका गरी दुईजना बिरामीको मृत्यु भएको पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत् इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माले जानकारी दिए ।
उनकाअनुसार नेपालमा सोमबारसम्म कुल ७६ जनामा उक्त रोगको संक्रमण भएको पाइएको छ ।
नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको शर्माले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी संक्रमण चितवनमा छ ।
चितवनमामात्रै यो वर्षको आजसम्म स्क्रब टाइफसबाट ६७ जनामा संक्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए ।
उनका अनुसार चितवनमा अहिले सचेतना कार्यक्रम सुरु भएको छ । यही साउन २१ देखि ३१ गते १० दिनको अन्तरालमामात्रै १४ जनामा रोग देखिएको छ । सबै चितवन मेडिकल कलेजमा उपचाररत् छन् ।
यसअघि, ५३ जनामा संक्रमण भएको सार्वजनिक भएको थियो ।
अघिल्लो वर्षदेखि आधिकारिकरुपमा नेपालमा सरकारले संक्रमण पत्ता लगाएको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत् इपिडिमियोलोजी शाखाका प्रमुख डा. शर्माले जानकारी दिए ।
रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उनले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशन दिएको जानकारी दिए ।
गत वर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएको थियो । गत वर्ष नेपालमा यो रोगका कारण आठजनाको मृत्यु भएको तथ्यांक छ ।
मुख्यगरी एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । मुसाको कानमा बस्छ ।
त्यसबाट घाँसपात झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्ने चिकित्सकले बताएका छन् ।
यो रोग लागेमा टाउको दुख्ने, १०४ जति ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ ।
दोस्रो विश्वयुद्ध ताका जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया)ले लगाउने रोग हो ।
झाडी वरिपरि, कृषि कर्म गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेलाई यो रोग सर्ने सम्भावना बढी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्