
-राजाराम गौतम, ईमेज
काभ्रे, साउन ३२ । काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । घटनास्थलमै २६ जना र उपचारका क्रममा काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काभ्रेको कात्तिके देउराली–७ का दिपक गौतम, सोही ठाउँका गोविन्द गौतम, सुनिल बर्देवा, मादनकुँडारी–५ का निलकण्ठ गौतम, सोही ठाउँका विनोद गौतम, मादनकुँडारी–१ का की एलिसा तामाङ, कात्तिके देउराली–३ काविष्णुप्रसाद बास्कोटा, कात्तिके देउराली–४ का उमेश बाँस्कोटा, मादनकुँडारी–१ का पञ्जा तामाङ, गोठपानी गाविसका रमेश विक, मादनकुँडारी–५ का छविलाल चौलागाई, कात्तिके देउराली–७ का कुनामाया परियार र सोही ठाउँकी सिता परियार रहेका छन् ।
त्यसैगरी मादनकुँडारी–१ की सानुमाया तामाङ, मादनकुँडारी–३ की माईली तामाङ, कात्तिके देउराली–७ की सिता बर्देवा, मादनकुँडारीकी सुष्मा लामा मगर, रामेछापको लखनपुर–१ की जुनकिरी गौतम, ठेगाना नखुलेकी सिता गिरी, कृष्ण दमै परियार, लिलानाथ गौतम, ठूलीकान्छी सुनुवार, विष्णु सापकोटा, इन्द्रकुमारी तामाङ, औलात सिहं र इन्द्रकुमारी लामाको पनि मृत्यु भएको छ ।
काठमाडौंबाट कोसीपारी जाँदै गरेको अरनिको यातायात समितिको बा. ३ ख १०६ नम्बरको बस बिर्ता देउराली–७ खहरेखोला नजिकैको डाँडाबाट करिब ४ सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा अन्य २८ जना गम्भीर घाइते भएका छन् ।
घाइते मध्ये अधिकांशको अवस्था गम्भीर छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरु मध्ये १३ जनालाई त्रिवि शिक्षण अस्पताल र १५ जनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएको छ ।
अरु घाईतेलाई एम्बुलेन्समार्फत् धुलिखेल अस्पतालमा ल्याएर उपचार भइरहेको छ । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रु राखेकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । बसमा ८० जना भन्दा बढी यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्