-दीर्घराज उपाध्याय, ईमेज
कैलाली, साउन ३२ । सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी गोठमुक्त समाजको अभियान चलिरहँदा सुविधा सम्पन्न र विकासतर्फ अघि बढिरहेको धनगढी उपमहानगरपालिकाभित्रै छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘सी’ गाउँमा अझै पनि ९० प्रतिशत घरमा छाउपडी गोठ रहेको छ । रजश्वला भएको महिलालाई छाउपडी भन्ने गरिन्छ ।
रजश्वला भएको समयमा घर भित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भंग हुने अन्धविश्वास भएका कारण परिवारले घरभित्र बस्न नदिने गरेको पीडित महिला बताउंछन् ।
खुला अनि साँघुरो कोठा भित्र बस्न बाध्य उनिहरुले छाउपडी गोठमा वस्दा विभिन्न किसिमका यातना भोगेको भए पनि घरपरिवारको डरले पछिल्लो पुस्ता समेत छाउपडी गोठमा बस्न बाध्य भएका छन् ।
धनगढी बजारमा दिनैपिच्छे महिला अधिकारका बारेमा आवाजहरु उठ्ने भएपनि धनगढी उपमहानगरपालिकामै छाउपडी गोठ हट्न नसक्नु दुखद भएको समाजसेवी चन्द्र बहादुर विक बताउँछन् ।
छोरी वुहारीलाई घर भित्र राख्ने रहर हुदाँ हुंदै पनि परम्परा देखिक चलिआएको चलन तोड्न नसकेको स्थानीय हरी विक बताउँछन् ।
समाजमा एक पछि अर्को परिर्वतन हुंदै गएपनि यस गाउँमा अझै पनि थुप्रै महिलाहरु अन्धविश्वासमा बाचिरहेका छन् । घरमा रजश्वला भएको महिलालाई राखेको अवस्थामा देउता रिसाउने, घरमा सर्प आउने, अन्नबाली घट्ने र रजश्वला भएको महिलालाई छोएमा सन्चो नहुने भएका कारण छापडी गोठ बनाएको स्थानीय चम्फा वादी बताउँछिन् ।
महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले कोठे कार्यक्रममा आफुहरुलाई सिमित राख्दा अन्धविश्वासले जकडेको जुगेडा सि गाउँमा थुप्रै महिलाहरुले रजश्वला भएको बेला असुरक्षित रात विताउनु परेको छ ।
२१ औं सताब्दीको कुरा गरिरहँदा शहर बजारकै यो दुरावस्था छ भने झन विकट र पहाडी जिल्लाहरुको अवस्था कस्तो होला ?









प्रतिक्रिया दिनुहोस्