सांसदलाई सचिव कार्कीको प्रश्नै–प्रश्नै–‘प्रशासन कसले चलाउने ? लौ न उपाय भए पाऊँ’ • Image Khabar Image Khabar


सांसदलाई सचिव कार्कीको प्रश्नै–प्रश्नै–‘प्रशासन कसले चलाउने ? लौ न उपाय भए पाऊँ’


Imagekhabar
३२ श्रावण २०७३, मंगलवार २२:१६

सांसदलाई सचिव कार्कीको प्रश्नै–प्रश्नै–‘प्रशासन कसले चलाउने ? लौ न उपाय भए पाऊँ’

काठमाडौं, साउन ३२ । ‘राजनीतिले प्रशासनलाई तह लगाउनुपर्‍यो, प्रशासनले राजनीतिलाई होइन । राजनीतिक दलविशेषको खोल ओढेर खरिदार, सुब्बा, अधिकृत साहेबहरु मन्त्रालयका सचिवलाई सरुवा गरिदिनुपर्‍यो भनेर मन्त्रीको ढोकाढोका चाहर्छन्, लौ न कसले तह लगाउने ?’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्की सांसदसित यस्तो प्रश्न सोध्दै थिए ।

व्यवस्थापिका–संसद, विकास समितिको मंगलबारको बैठकमा सचिव कार्कीले सो प्रश्न गरिरहँदा बैठक कक्ष सुनसान बनेको थियो ।

‘प्रशासन कसले चलाउने ? लौ न उपाय भए पाऊँ । यसरी आफ्नै सचिवलाई सरुवा गर्न हिँड्नेलाई माननीय मन्त्रीहरुले किन ढोकाबाट निकाल्न सक्नुहुन्न ? यस्तालाई आफ्नो कार्यकक्षमा किन निषेध गर्न सक्नुहुन्न ?’ उनले एकपछि अर्काे प्रश्न गरिरहे ।

‘सुरु–सुरुमा आफूलाई त भौतिक पूर्वाधारको विकासमा पहाडै फोर्न सकिन्छ जस्तो लाग्थ्यो तर अहिले सकिँदैन जस्तो लागिरहेछ’–उनले सुनाए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, ऊर्जा, जलस्रोत मन्त्रालयमा सहसचिव हुँदै सचिव भएका कार्कीले भने–‘राजनीतिकर्मी, प्रशासक, जनता सबैको व्यक्तिगत् सोचभन्दा राष्ट्रिय सोच नभएसम्म सुधार हुने र गर्ने ठाउँ रहन्न ।’

‘सभापतिज्यू, माननीय सांसदज्यू, अहिले प्रशासनमा डर, भर भन्ने केही छैन, कम्तीमा आफूभन्दा माथिको आदेश मान्ने, तलकाको कुरा सुन्ने र माथिको डर त होओेस् नि ? केही छैन’–सचिव कार्कीले आफ्ना कुरा राख्नेक्रममा बताए ।

सचिव कार्कीले आफ्नो भनाइ राखिसकेपछि समितिका सभापति रवीन्द्र अधिकारीले राजनीतिक अस्थिरताको असर प्रशासनमा पर्न नदिन समितिले सरकारको ध्यानाकर्षण गराउने बताए ।

उनले भने–‘निरास नहुनुहोस् सचिवज्यू, आफ्नो क्षमता देश र जनताका लागि उपयोग गर्नुहोस्, कसले के भन्छ, यसका पछाडि लागेर सम्भव हुँदैन ।’ रासस

प्रतिक्रिया दिनुहोस्