राजाराम गौतम (इमेज जिल्ला ब्यूरो)
काभ्रे, काठमाडौं, साउन ३२ । बढ्दो सवारी दुर्घटनाको कारण र समाधान खोज्न सरकारले हालसम्म दर्जनभन्दा बढी समिति बनाइसकेको छ ।
सबैजसो समितिले यातायात क्षेत्रको सुधारका लागि पटक–पटक प्रतिवेदन पनि बुझाएका छन् । तर, दुर्घटनाको निरन्तरता भने रोकिएको छैन ।
सोमबारमात्रै काभ्रेको बिर्तादेउरालीमा भएको यात्रुबहाक बस दुर्घटनामा २७ जनाले ज्यान गुमाए ।
यसको कारणकारुपमा थपिएको छ, सडकमा मौलाएको सिन्डिकेट शैली ।
वर्षदिनयताको सडक दुर्घटनाको दर हेर्ने हो भने औसतमा दैनिक पाँचजनाले अकालमा ज्यान गुमाउनुपरेको छ ।
एकपछि अर्को गर्दै भइरहेका पछिल्ला सवारी दुर्घटना हेर्दा नेपालको सडक कति सुरक्षित छ भन्ने प्रस्ट हुन्छ । दैनिकजसो सडक दुर्घटनाका खबर आइरहेका छन् । जसमा परेर थुप्रैको मृत्यु भइरहेको छ भने कति अंगभंग हुन्छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार साउन महिनामामात्र १ सय १५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् भने २ सय ५० भन्दा बढी घाइते भएका छन् । सामान्य दुर्घटनामा पर्नेको संख्या तीन सयभन्दा माथि छ ।
यही तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालको सवारी यात्रा कत्तिको सुरक्षित छ भन्ने प्रस्ट हुन्छ ।
सोमबार काभ्रेको बिर्तादेउरालीमा भएको कहालीलाग्दो बस दुर्घटनाले त नेपालका सवारी–साधन र त्यसको प्रयोगबारे प्रश्न उठ्न थालेको छ ।
खचाखच यात्रु, भरिभराउ सामान, भीरमाथिको पहरे–साँघुुरो कच्चीबाटो । त्यसमाथिको लगातार वर्षाले चिप्लो न चिप्लो सडक ।
काठमाडौंबाट काभ्रेको कोसीपारी मादनकुँडारीका लागि जाँदै गरेको बसले बिर्तादेउराली–९ खहरे खोला गाउँनजिकैको उकालो तान्न सकेन र भीरबाट खस्यो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्