१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


‘एकाधिकार र क्षमताभन्दा बढी यात्रु बोक्ने स्थितिले दुर्घटना’


0
Shares

                                                                            फाइल फोटो
काठमाडौं, भदौ १ । व्यवस्थापिका–संसदको बुधबारको विशेष समयमा बोल्ने अधिकाश सांसदहरुले काभ्रेमा सोमबार भएको बस दुर्घटना र स्थानीय तहको पुनःसंरचनाबारे केन्द्रित रहेर आ–आफ्नो भनाइ प्रस्तुत् गरे ।

यातायात क्षेत्रमा देखिएको एकाधिकार र चालकको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको बताउँदै उनीहरुले यातायात क्षेत्रलाई नियमन गर्न बनेको कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

बैठकमा पहिलो वक्ताकोरुपमा नेपाली कांग्रेसका तीर्थबहादुर लामाले बिर्तादेउरालीको खहरेखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा २७ जनाको ज्यान गएको, ४० जना गम्भीर घाइते भएको जानकारी गराउँदै मृतकप्रति श्रदाञ्जलि र घाइतेको शीघ्र स्वास्थलाभको कामना गरे ।

एकाधिकारको कारणले क्षमताभन्दा तेब्बर यात्रु बोक्ने स्थितिले दुर्घटना भएको बताउँदै उनले यातायात कानुनलाई कडाइकासाथ कार्यान्वयनको माग गरे ।

नेकपा एमालेका विदुर सापकोटाले घाइते अझैपनि औषधिबिना छटपटाइरहेकाले उनीहरुको उपचारमा ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए ।

‘जनताको पहलामा विकट गाउँमा बनेका सडक यातायात सन्चालनको हिसाबले जोखिमपूर्ण रहेको हुँदा ती बाटोको स्तरोउन्नति गर्नेतर्फ सरकारको ध्यान जाओस्’–उनले भने ।

नेकपा माओवादी केन्द्रका सांसद कमला दोङले दुर्घटनाका घाइतेलाई पीडामाथि पीडा थोपर्ने होइन, निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले स्थानीय निकायमा संख्या घटाउँदा जनताले प्राप्त गर्ने अप्ठ्यारोपर्ने हुँदा पुरानै संख्या कायम गर्नु उपयुक्त हुने धारणा राखे ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले काभ्रेलगायतका दुर्घटनाका घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै ‘मुलुकमा बढ्दै गरेको दुर्घटनाको मुख्य कारककारुपमा सिन्डिकेट हो भन्ने ठहर भइसकेको हुँदा उनीहरुलाई किन कारबाही हुन सकेन ?’–भने ।

नेपाल सद्भावना पार्टीका सांसद डा. डिम्पलकुमारी झाले मुलुकका हरेक भागमा दैनिक सवारी दुर्घटनाका घटना हुने गरेकाले त्यसलाई रोक्न भएका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले मुलुक सुशासन युक्त राजनीतिक दल गठन हुन आवश्यक रहेको हुँदा योगदानमा आधारित निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए ।

राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा राज्यले अनुदान तोक्ने प्रणालीको विकास गर्न सकिएमा राजनीतिक दलमाथिको आपेक्ष हट्ने र सुशासन प्रवद्र्धनमा जोड पुग्ने बतबाए ।

नेपाली कांग्रेसका हरिप्रसाद नेपालले राष्ट्रियताको प्रखर नमुनाको इतिहासकोरुपमा पाल्पामा हुने गरेको भगवती जात्रालाई लिन सकिने बतबाए ।

नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले स्थानीय तह पुनःसंरचना आयोगले संघीयतालाई सफल तुल्याउन नदिने उद्देश्यले आयोगले सीमा र संख्या निर्धारण गरेको हुँदा आयोगको औचित्यतामाथि नै प्रश्न उठाए ।

नेपाली कांग्रेसकै सांसद ललितजंग शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सबै सरकारले बेवास्ता गरोको गुनासो गरे ।

सांसद मानप्रसाद खत्रीले सडक दुर्घटनाका लागि १० लाख उपलब्ध गराउन र घाइतेलाई तत्काल निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे । रासस