१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


डीडीसी उद्योगमा डबल लेबलिंग गरिएको पाउडर दूध फेलापर्‍यो


0
Shares

                                                                      फाइल फोटो

काठमाडौं, भदौ १ । सरकारले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको छ ।

आपूर्ति मन्त्रालयले चलाएको विशेष बजार अनुगमनमा बुधबार पनि १२ टोली उपत्यकाका विभिन्न भागमा परिचालन भएको थियो ।

बुधबार भएको विशेष अनुगमनमा सरकारी संस्थान डीडीसीको बालाजु औद्योगिक क्षेत्रभित्र अवस्थित उद्योगमासमेत अनियमितता फेलापरेको छ ।

उद्योगमा पाउडर दूधको बोरामा उत्पादन मिति लेखिएको पुरानो लेबलमाथि नयाँ उत्पादन मिति लेखिएको लेबल टाँसेको पाइएको छ ।

उत्पादन मिति २०७१ साल ११ महिना भएको पुरानो लेबलमाथि नयाँ उत्पादन मिति २०७२ साल १२ महिना लेखेको पाइएको छ । टोलीले ४ हजार धूलो दूध राखिएको गोदाम ‘सिल’ गरेको छ ।

उद्योगको स्टोरमा सामान राख्ने स्थिति पनि नाजुक भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत क्षितिज श्रेष्ठले बताए ।

कन्जुमर आईकी अध्यक्ष विमला खनालले डीडीसीको उत्पादन फ्रेस मिल्कको लागि प्रयोग गरिने चिनी गुणस्तरहीन भएको, दूध प्याकिङ गर्ने प्लास्टिक ‘कन्टामिनेटेड’ भएकोलगायतका समस्या भेटिएको बताइन् ।

त्यस्तै, मन्त्रालयअन्तर्गत्को आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गएको टोलीले सामाखुसीस्थित खाद्य पसलहरुमा अनुगमन गर्‍यो ।

त्यहाँ मूल्यसूची स्पस्ट देखिने गरी राख्न एवं लेबल भएका सामानमात्र बिक्री गर्न टोलीले व्यवसायीलाई निर्देशन दिएको छ ।

त्यस्तै, अनुगमनकाक्रममा फूलबारी सपिङ सेन्टर र फेमिली जनरल स्टोरमा प्रमाणित गरिएको तौल नाप्ने मेसिन राख्न पनि टोलीले निर्देशन दिएको छ । टोलीले स्टोरबाट उत्पादन मिति सकिएका केही खाद्य सामग्री पनि जफत गरेको छ ।

त्यस क्षेत्रका केही पसलहरुका बढी मूल्यमा सामान बेच्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । अनुगमनबाट सामानको मूल्य केही कम भएको पनि उपभोक्ताले बताएका छन् ।

यस्तै, महाराजगन्जस्थित सेलवेज डिपार्टमेन्ट स्टोरमा पनि मन्त्रालयको टोलीले छापामारी सिल गर्‍यो ।

मन्त्रालयका उपसचिव लवराज जोशीको नेतृत्वमा गएको अनुगमन टोलीले त्यहाँ पनि स्टोरमा केही खाद्य र गैरखाद्य सामानसँगै राखिएको, केहीमा लेबल स्पस्ट नभएकोलगायतका समस्या पाएसँगै सिल गरेको हो ।

फेसन स्टोरमा बिक्री मूल्य अत्यधिक राखिएको पाइएको जनाइएको छ । पछिल्ला अनुगमनमा ‘लेबल डल’ वा ‘रिलेबलिङ’जस्ता समस्या बढी पाइने गरेको उपसचिव जोशीले बताए ।

सेलवेजका व्यवसायीहरुले भने अत्यन्त न्यून परिमाणमा समस्या भेट्दा पनि बिदाअघि पूरै पसल सिल गरिदिँदा मर्का परेको गुनासो गरेका थिए ।

उपभोक्ताहरुले भने अनुगमन मौसमी नभइ नियमित हुनुपर्नेमा जोड दिएका थिए ।