
काठमाडौं, भदौ २ । विहीबारदेखि बौद्ध धर्मावलम्बीहरूले ९ प्रकारको गुँलाबाजा बजाउँदै विभिन्न बाहाल, बही र विहार परिक्रमा सुरु गरेका छन् ।
यो परिक्रमामा बाहाल, बही र विहारमा राखिएका सदियौं पुराना दीपंकर बुद्ध, बुद्ध, बोद्धिसत्व, लोकेश्वर र तारा आदिका मूर्तिहरू गुँलाबाजा बजाउँदै हेर्न जाने गरिन्छ । साथै सदियौं पुराना पौवा, हस्तलिखित ग्रन्थहरूसमेत प्रर्दशन गरिन्छ ।
परिक्रममाकै अवसर पारेर काठमाडौंको ताहाचलको खुसिबहीमा ऐतिहासिक र पुरातात्विक महत्वको वीरकुश महाराजको कान नभएको मुखौटा र तिब्बती लिपिमा सुनले लेखेको बौद्धग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता प्रदर्शन गरिएको छ ।
साथै, प्रदर्शनीमा ऐतिहासिक र दुर्लभ सिद्ध नारोपाले बोक्ने महाशंखसमेत राखिएको छ । यो प्रदर्शनी आगामी शनिबारसम्म हुनेछ ।
यस महाविहारको राजा भाष्कर मल्लको पालामा जीर्णोद्धार गरिएको र पाल्पाका राजा मुकुन्द सेनले आठपटकसम्म जलाउने असफल प्रयास गरेको उल्लेख छ ।
विहीबारै उपत्यकाका नेवार समुदायले आ–आफ्ना खेतमा गएर सिमीको पातमा क्वाँटी भात खुवाएर भ्यागुता पूजा गरेका छन् ।
प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घन्टाकर्ण राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताइ संहार हुनबाट बचाएको किम्बदन्ती छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्