
फाइल फोटो
गोरखा, भदौ ३ । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ ।
चीन सरकारले सामागाउँ गाविसको सीमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्चीसडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको हो ।
तिब्बतको जोंगा जिल्लाको कोङ्दाङ सहर हुँदै गत वैशाखमा खनिएको कच्चीसडकमा हालैदेखि सवारी–साधन चल्न थालेका हुन् ।
तिब्बतको रुइढाक्यामा आयोजित पूजामा गएका गोरखा सामागाउँका ३० जना ट्रक चढेर सीमानाको ३५ नम्बर पिल्लर छेउ सडक आइपुगे । पहिलोपटक गाडी चढेका गाउँले निकै खुसी देखिन्थे ।
माथिल्लो गाउँ, साम्दोका निमा दोर्जेले भने–‘चीन सरकारले सीमा क्षेत्र भएर गाडी कुदायो तर हामीलाई यहाँबाट गोरखा सदरमुकाम पुग्न ९ दिन हिँड्नुपर्छ ।’
सदरमुकामबाट तिब्बत जोड्ने लक्ष्यसहित खनिएको सडक अहिले गुम्दा गाविससम्म पुगेको छ ।
चिनियाँ सरकारले सामागाउँको सीमासम्म सवारी–साधान चलाइसकेको अवस्थामा नेपालबाट चार वर्षदेखि खनेको सडक भने अहिलेसम्म छेकम्पार गाविसको सीमासम्म पनि पुर्याउन सकिएको छैन । छेकम्पार र सामागाउँ छुट्टाछुट्टै उपत्यकाभित्र पर्छन् । छेकम्पारबाट सामागाउँ पुग्न दुई दिन हिँड्नुपर्छ ।
हेलिकप्टोरबाट डोजर ढुवानी गरेर चार वर्षअघि छेकम्पारमा सडक खन्न सुरु गरिएको भएपनि अहिले म्हु गुम्बासम्ममात्रै सडक खनिएको छ ।
हिउँदमा हिउँपर्ने भएकाले सीमा क्षेत्रका सडक वर्षायाममामात्रै चल्छन् । चीनले निर्माण गरेको सडक कच्ची हो । सीमानाबाट सामागाउँ गाविससम्म १५ किमी नयाँसडक निर्माण गर्नुपर्ने हुन्छ ।
तिब्बत जोड्ने योजनासहित खन्न सुरु गरेको सडक गुम्दा गाविसमा पुगेर रोकिएको जिल्लास्थित सडक कार्यालयले जनाएको छ ।
यस्तै, आरुघाट, सोती हुँदै खनिएको सडक लापु गाविसको सीमानामा पुगेर रोकिएकाले अझै गोरखाको माथिल्ला १३ गाविसमा सडकको पहुँच छैन । सीमानादेखि गोरखा सदरमुकामसम्म १६२ किमी लामो सडक हुने अनुमान गरिएको छ ।
तिब्बत जोड्ने योजनासहितको सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन भएपनि विभिन्न बहानामा बजेट फिर्ता जाने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।
सामागाउँ र छेकम्पारबाट तिब्बतको बजारमा पुगेर सामान किन्ने यहाँका बासिन्दा अहिलेसम्म सडकको अभावमा घोडामै आवत–जावत गर्छन् भने चौंरीबाट दुई दिन लगाएर सामान ढुवानी गर्ने गर्छन् ।
जिल्लास्थित सडक कार्यालयका प्रमुख प्रेमप्रकाश खत्री भन्छन्–‘सडकको ट्र्याक खन्न रु आठ लाख बजेट छ । यो बजेट धेरै थोरै हो ।’ रासस
प्रतिक्रिया दिनुहोस्