फाइल फोटो
काठमाडौं, भदौ ३ । बंगलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ ।
नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो ।
गुणस्तरीय, सफा भएपनि चामल मोटो र उसिनेको कारणले उपभोक्ताले नरुचाउँदा बिक्री नभएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराए ।
उनले यहाँका मानिसमा मसिनो चामल खाने बानी परेकाले पनि मोटो चामल किन्न नरुचाएको हुनसक्ने बताए ।
सूचना अधिकारी कार्कीले संस्थानले सिन्धुपाल्चोकको जुरे पहिरोमा चीन सरकारले पठाएको एक हजार २८८ क्विन्टल चामल बिक्री भएतापनि सँगै बिक्री गर्न थालेको बंगलादेशको उक्त उसिना चामल भने बिक्री नभएको बताए ।
संस्थानले चिनियाँ चामलको मूल्य प्रतिकिलो रु ४० र उसिना चामलको मूल्य रु ४१ तोकेको छ ।
‘चीनबाट पठाएको चामल मसिनो टाइचिन खालको थियो र त्यो चाँडै बिक्री भयो’–सूचना अधिकारी कार्कीले भने–‘तर बंगलादेशको चामल मोटा भएकाले उपभोक्ताले रुचाएनन् ।’
उनले जेठदेखि बिक्री–वितरण गर्न थालेको उसिना मोटा चामल अहिलेसम्म ५०० क्विन्टलमात्र बिक्री भएको जानकारी पनि गराए ।
भूकम्पपीडितको राहतका लागि बंगलादेशले पठाएको १० मेट्रिकटनमध्ये २१ हजार ८०५ क्विन्टलमात्र भूकम्पपीडितलाई वितरण गरिएको थियो ।
भूकम्पप्रभावित क्षेत्रबाट माग नभएपछि एक वर्षसम्म ७८ हजार १९५ हजार क्विन्टल काठमाडौं, गोर्खा, सुर्खेत, नेपालगन्ज र धनगढीस्थित संस्थानकै गोदाममै थन्किएको थियो ।
सरकारले गत वैशाखमा मन्त्रिपरिषदको निर्णय गर्दै गोदाममा थन्किएको चामलमध्ये ३४ हजार क्विन्टल ‘कामका लागि खाद्यान्न योजना’ ल्याएर संस्थानमार्फत् कर्णालीका चार जिल्लामा ३० हजार र कालीकोटमा चार हजार क्विन्टल बेच्न निर्देशन दिएको थियो ।
सो परिमाणको चामल हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा बिक्रीका लागि पठाइसकेकोे बताउँदै सूचना अधिकारी कार्कीले भने–‘जिल्लामा पठाएको सो चामल दसैंसम्ममा बिक्री गर्ने लक्ष्य लिएको छ ।’
‘दसैंमा विभिन्न ठाउँमा बिक्री कक्ष राखेका हुन्छौं’–उनले भने–‘त्यहीबेला उक्त चामल बिक्री गर्ने योजना रहेको छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्