१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


हामीले देश बनाउन सक्छौं : ओली


0
Shares

                                                                         फाइल फोटो

काठमाडौं, भदौ ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा मुलुक भूपरिवेष्ठितमात्र नभइ एक देशवेष्ठित भएकाले त्यसको विकल्प खोज्नुपरेको बताएका छन् ।

युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले एक देशसँगकोमात्र परनिर्भरता हटाउन अरु देशसँग सम्बन्ध विस्तार गरी देशको स्वाभिमानलाई उँचो बनाएको विचार व्यक्त गरे ।

समग्र मुलुकको समुन्नतिका लागि हाम्रो देश हामीले बनाउन सक्छौं भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउँदै उनले मुलुकभित्रका खनिजपदार्थको उत्खनन् गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्वमन्त्री एवं एमाले नेता लालबाबु पण्डितले आफ्नो बुद्धि र विवेकलाई प्रयोग नगरी अरुको सल्लाहमा मुलुकलाई अगाडि बढाउन खोज्दा प्रगति हुन नसकेको औंल्याउँदै देशमा राजनीतिज्ञ तथा प्रशासनिक क्षेत्रका सबैजनाले आफ्नो जिम्मेवारी बहन गनुपर्नेमा जोड दिए ।

राष्ट्रिय युवा कोषका अध्यक्ष माधव ढुंगेल, नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्मा, समाजसेवी मनिराम डंगोल र बद्री दाहालले भौतिक पूर्वाधार विकासका साथै ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमका संयोजक सुवास घिमिरे र सहसंयोजक पूजा भुसालले समाजका विभिन्न क्षेत्रका समस्यालाई सम्बन्धित निकायमा पुर्‍याइ त्यसको समाधान खोजेर राष्ट्रको नवनिर्माण गर्न उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिए । रासस