
सोलुखुम्बु, वैशाख २ । नयाँवर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदन–प्रदानको कार्यक्रम चलिरहेको थियो ।
तर, त्यहीबेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एअरको विमान दुर्घटनाको खबरले अधिकांश दुखित भए ।
पर्यटक आउने याम भएकाले तेन्जिङ हिलारी विमानस्थल लुक्ला यतिबेला निक्कै व्यस्त रहन्छ ।
आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९.२० मा समिट एअरकोे ९ एन–एएमएच विमान दुर्घटनामा पर्योे ।
प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूकाअनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङ एअरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको थियो ।
त्यतिबेलासम्म समिट एअर रनवेको बायाँपट्टी रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो ।
लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावनमार्गको २०० मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्रीएअरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताए ।
‘बिहानैदेखि हामीसँगै थियौं’–उनले भने–‘प्रहरी नायव निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केही मिटर तल हुनुहुन्थ्यो । हामी पनि त्यतै जाँदै थियौं । विमानको आवाज अलि फरकखालको सुनियो र फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्यौं । तर, उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुवैलाई किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रहेको हेलिकोप्टरलाईसमेत क्षति पुर्यायो । हामी तत्काल उद्धारमा जुट्यौं ।’
प्रहरी निरीक्षक लिम्बूले भने–‘दुई प्रहरी नायव निरीक्षकलाई हेर्दाहेर्दै विमानले किच्यो । खड्काको तत्काल मृत्यु भयो । श्रेष्ठ भने सख्त घाइते हुनुभयो ।’
भावुक बनेका उनले बताए–‘केही मिटरको दूरीमा रहनुभएका सहकर्मीको एक सेकेन्डमै मृत्यु भयो । तत्काल खटियौं, घाइतेलाई पाँच मिनेटमै काठमाडौं पठायौं अनि मृतकलाई केही समयपछि ।’
दुर्घटनामा समिट एअरका सहचालक काठमाडौंको चाबहिलका ३४ वर्षीय सुजित ढुंगाना, दोलखा घर भइ लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत् प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो ।
भोजपुर जिल्ला घर भएका प्रहरी नायव निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठको काठमाडौंमा उपचारकाक्रममा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूले बताए ।
प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख थिए भने रुद्र श्रेष्ठ विमानस्थल सुरक्षागार्ड प्रमुख थिए ।
उनीहरु बिहानैदेखि विमानस्थलको सुरक्षाका लागि अन्य सहकर्मीसहित खटिएको प्रहरी निरीक्षक लिम्बूले बताए ।
आफू नाम्चे इलाका प्रहरी कार्यालयको प्रमुख भएपनि वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्यधिक हुने भएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उनको भनाइ थियो ।
विमानस्थलमा खटिएका प्रहरीले बिहानैदेखि खानासमेत नखाइकन दिउँसो उडान तथा अवतरण बन्द नभएसम्म बस्नुपर्ने हुन्छ । त्यसैले आइतबार बिहान पनि सबैजना भोकै रहेको लिम्बूले सुनाए ।
‘चियासमेत नखाइकन सुरक्षामा बसेको साथीको ज्यान गयो’–उनले भने–‘भाग्यले बाँचियो । मेरै आँखाअगाडि केही मिटरको फरकमा दुई सहकर्मी गुमाउनुपर्दा ज्यादै दुःख लागेको छ ।’
लिम्बूले भने–‘तत्काल उद्धारमा लागिएकाले त्यसबेला केही महसुस भएन । तर, अहिले नयाँ जिन्दगी पाएछुजस्तो लागिरहेको छ ।’
‘मैले नयाँ जीवन पाएँ’–उनले बताए–‘घाइतेले पनि नयाँ जीवन पाएभन्दा फरक पर्दैन ।’
घाइते हुनेमा काठमाडौं, कालिमाटीटोल घर भएका समिट एअरका चालक रविनाथ रोकाय, ललितपुर उपमहानगरपालिका भैंसेपाटी निवासी मनाङ एअरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ एअर लुक्लाका स्टेसन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका–२ का ४३ वर्षीय लाक्पाछिरिङ शेर्पा र मनाङ एअरकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका–२ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।
जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाइ सामान्य विमानस्थलकोभन्दा निकै कम (५२७ मिटर)मात्र रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्