
-प्रकाश नेपाल/ईमेज
इलाम । चियाबगानका लागि प्रसिद्ध इलामले पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।
कन्याम र इलाम बजार नजिकका चियाबगान चर्चामा रहे पनि यी वाहेकका कतिपय सुन्दर चियाबारीको भने प्रचार–प्रसार हुन सकेको छैन ।
इलाम चियाबारीले भरिपूर्ण उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।
चियाबारी हेर्न भनेर इलाम पुग्नेहरु कन्याम र इलाम बजार नजिकका चियाबारीमा मात्र पुग्छन् तर देउमाई नगरपालिकाका थुम्काथुम्कामा मौलाएको चियाबारी हेर्ने सौभाग्य भने धेरैले पाएका छैनन् ।
शान्त र सौन्दर्यका हिसाबले पनि जिल्लाकै उत्कृष्टमध्येमा पर्ने यस चियाबारीको रमणीयता बुझ्न वर्णन गरेर पुग्दैन आफैँले महसुस नै गर्नुपर्छ । पानीटारसँग परिचितहरु मात्र यस क्षेत्रमा जाने गरेका छन् ।
इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगानमा साढे चारसय रोपनीमा फैलिएको देउमाई नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष दावा तामाङ बताउँछन् ।
चियाबगानका अलावा पहाडको मनोरम दृश्यावलोकन, मन्दिर, खेलमैदान लगायतले पर्यटकको मन लोभ्याउने गरेको छ ।
पर्यटन विकासको प्रबल सम्भावना रहे पनि प्रचारप्रसार हुन नसकेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीयले पहल सुरु गरेका छन् ।
बर्षेनी आगन्तुकको संख्या थपिँदै जान थालेपछि होमस्टे पनि संचालनमा ल्याइएको छ ।
प्राकृृतिक सौन्दर्य भरिएको मात्र नभई यहाँ विभिन्न किसिमका सांस्कृतिक विविधिता पनि देख्न सकिन्छ ।
यस ठाउँबाट सिदिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी लगायतका पर्यटकीय क्षेत्र पनि नजिकै छन् ।
यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्ने स्थानीयको आँकलन छ ।
पानीटारको चियाबारीभित्र आराम गर्ने रमाइलो गर्ने ठाउँ निर्माण गरिएको छ ।
असोजदेखि वैशाखसम्म त्यहाँ पुग्न सहज मोटर यातायातको व्यवस्था हुने र मौसम पनि खुल्ने भएकाले घुमघामका लागि पर्यटक पुग्छन् ।
बाह्रैमहिना यातायातको निर्वाध सुविधा पु¥याउने र अन्य आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यस क्षेत्रमा पर्यटकको आवागमन बढ्नेमा दुईमत छैन ।
प्रतिक्रिया दिनुहोस्