१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कञ्चनपुर जिल्लाका अधिकांश सीमा स्तम्भ जीर्ण (भिडियो)


0
Shares

डिल्लीराज पन्त
कञ्चनपुर, भदौ ५ । नेपाल–भारत सीमाना छुट्याउने कञ्चनपुर जिल्लाका सीमा स्तम्भहरु जीर्ण बन्दै गएका छन् ।

सम्बन्धित निकायले समयमै मर्मत सम्भार र पुनस्र्थापन नगर्दा स्तम्भहरु जीर्ण बनेका हुन् । कञ्चनपुरको १२९ किलोमिटर लामो सीमा क्षेत्रमा गाडिएका १३३ सीमा स्तम्भमध्ये अधिकांश जीर्ण बनेका हुन् । कतिपय पिल्लर नदीले बगाएका छन् भने कतिपय हराएका र भत्किएका छन् । केही स्तम्भको कंक्रिट खसेर र इटा खुस्किएर ढल्ने अवस्थामा पुगेका छन् । सम्बन्धित निकायले बेवास्ता गर्दा दुई देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउने स्तम्भ यो हालतमा पुगेको स्थानीय गुनासो गर्दछन् ।

२०७० सालमा महाकालीको बाढीले क्षति पु¥याएको उत्तरी सीमा ब्रम्हदेव खल्ला मछेट्टिको र पश्चिमी सीमा भुजेलामा रहेको पिल्लरको समेत पुनर्निर्माण गरिएको छैन । सीमा क्षेत्रमा कतिपय स्तम्भ नहुँदा भारतीय नागरिकले नेपाली किसानको जग्गा अतिक्रमण गरी दुःख दिने गरेको, राज्यले गम्भीर रुपमा नलिँदा पटक–पटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुने, सीमा क्षेत्रका नेपाली लखेटिने, बाँध बाँधेर नेपाली भूमि डुबानमा पार्नेजस्ता क्रम चलिरहेको स्थानीयको भनाइ छ ।

सीमा स्तम्भमध्ये जोर भारत र बिजोर नेपालले पुनर्निर्माण गर्नुपर्ने व्यवस्था छ । तर दुबै देशले यसतर्फ लामो समयसम्म चासो दिएका छैनन् । जीर्ण स्तम्भ बनाउन स्थानीय तहबाट गृह मन्त्रालयमा प्रतिवेदन पेश गरेको र केन्द्रीय स्तरबाटै नेपाल–भारत दुबै देशका प्राविधिकले काम गरिरहेकाले आउँदो मंसिरबाट सीमा स्तम्भको खोजी र पुनर्निर्माण शुरु गरिने कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल बताउँछन् ।

दुई देशबीचको अन्तर्राष्ट्रिय सीमाजस्तो संवेदनशील विषयमा सम्बन्धित निकायको लापरवाही र ढिलासुस्तीले स्तम्भ नष्ट हुँदै जानेमात्र नभई यसले कूटनीतिक सम्बन्धमा समेत प्रभाव पार्ने भएकाले मर्मत–सम्भार र पुनर्निर्माणमा ढिलाई गर्नु दुबै देशका लागि हितकर ठहर्दैन ।