प्रधानमन्त्रीले भारत र चीनमा सरकारको विशेष दूत पठाउनु कति जायज ?(भिडियो) • Image Khabar Image Khabar


प्रधानमन्त्रीले भारत र चीनमा सरकारको विशेष दूत पठाउनु कति जायज ?(भिडियो)


Imagekhabar
६ भाद्र २०७३, सोमबार २०:५५

प्रधानमन्त्रीले भारत र चीनमा सरकारको विशेष दूत पठाउनु कति जायज ?(भिडियो)

-सरस्वती कर्माचार्य, ईमेज

काठमाडौं, भदौ ६ । सामान्यतः दुई देशबीच अविश्वास सृजना भएको अवस्थामा विशेष दूत पठाउने गरिन्छ । त्यो पनि यस्तो अवस्थामा त्यो जिम्मेवारी परराष्ट्रमन्त्रीलाई नै दिने गरिन्छ ।

तर प्रधानमन्त्री दाहालले अर्थमन्त्रालयको जिम्मेवारी लिएका कृष्णबहादुर महरालाई चीन पठाए भने गृह मन्त्रालयका जिम्मेवारी लिएका बिमलेन्द्र निधिलाई भारत ।

चीन पुगेर फर्किएका अर्थमन्त्री महराले आफ्नो भ्रमण निकै सफल भएको बताइसकेका छन् ।

उता भारतमा रहेका निधिले पनि त्यहाँको भेटघाट सकिसकेका छन् । यसरी विशेष दूत पठाउनुपर्ने विशेष परिस्थिति उत्पन्न भएकै हो त भन्ने प्रश्न कुटनीतिक क्षेत्रमा उठेको छ ।

पूर्व परराष्ट्रमन्त्री पाण्डे यसरी विशेष दूत पठाउनुले नेपालको कुटनीतिक कमजोरी खुलस्त भएको बताए ।

तर अर्का कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ दुबै छिमेकीलाई प्राथमिकता दिने नीति सरकारले लिएको र कुनै एक पक्षतिर नढल्कने सन्देश दिन खोजेको हुनसक्ने बताउँछन् ।

यद्यपी भ्रमणको सफलता उच्च स्तरिय भ्रमणको आदानप्रदानले मात्रै होइन, दुबै छिमेकी देशसँग अघिल्लो सरकारले गरेको सम्झौताहरुको कार्यान्वयनबाट मात्रै यस्ता भ्रमणहरुको औचित्य सावित हुने श्रेष्ठको विश्लेषण छ ।

कुटनीतिज्ञ शम्भुराम सिंखडा चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने र प्रचण्डको भारत भ्रमण र भारतका प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमण तय हुनुलाई दूतहरुको दौडाहाको उपलब्धी मानिन्छन् ।

२१ औं शताब्दीमा विश्वको दुई उदीयमान शक्ति बनेका भारत र चीनको बीचमा हामी रहेका छौं । यो हाम्रो लागि बरदान पनि हो र सम्हालिन नसके अभिषाप पनि हो ।

त्यसैले दुबै छिमेकीसँगको सम्बन्धमा देखिएको विश्वासको संकटलाई जतिसक्दो छिटो मेट्न आवश्यक हुने पूर्व परराष्ट्रमन्त्री पाण्डेको सुझाव छ ।

सम्वादहीन रहनुभन्दा सम्बाद जारी राख्नु राम्रो हो । तर देशभित्रको समस्यालाई लथालिंग छाडेर सबै कुराको समाधान दिल्ली र पेइचिङ खोजियो भने यसले समस्या निम्त्याउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्