
फाइल फोटो
काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले सोमबार आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न भनेका हुन् ।
उनले भने–‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।’
प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न र पेट्रोलियम पदार्थलगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य वस्तुको सहज आपूर्ति नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएको उनका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन सार्वजनिक बिदाका कारण काठमाडौं उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएकाले बजारमा अभाव हुन नदिने विश्वास दिलाएका थिए ।
मंगलबारदेखि सहज हुन्छ : निगम
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको जनाउँदै मंगलबारदेखि नै पम्पमा देखिएको लाइन हट्ने जनाएको छ । इन्धन अभाव हुनुपर्ने कुनै कारण नभएको निगमको भनाइ छ ।
पेट्रोलियम पदार्थ पाइँदैन कि भन्ने मनोविज्ञानका कारण उपभोक्ताले अनावश्यक भन्डारण गरेकाले पम्पमा लाइन देखिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।
उनकाअनुसार उपत्यकामा दैनिक चार लाख लिटर आवश्यक पर्नेमा केही दिनयता ६ लाख लिटरभन्दा बढी पेट्रोलियम पदार्थ बिक्री गरिएको छ ।
निर्देशक साहकाअनुसार शुक्रबार, आइतबार र सोमबार आवश्यकताभन्दा बढी मात्रामा इन्धन बजारमा पठाइएकाले मंगलबारदेखि लाइन हट्नेछ ।
शनिबार इन्धन बिक्री नगरिएकाले उपभोक्ताले अभाव हुने आशंकाले भन्डारण गरेको निगमले अनुमान गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्