
काठमाडौं । मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ ।
प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन् ।
वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नुरहेको छ ।
मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ ।
फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ ।
जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।
यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिइ आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् ।
यसक्रममा मैथिलहरू बिहानै उठेर आफ्नो परिवार र गाउँका केटाकेटीलाई आशीर्वाद दिने चलन पनि रहेको छ ।
यस पर्वमा शीतलताको कामना सूर्यको कडा ताप विरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूख विरूवाका लागि पनि शीतलताको कामना गरिन्छ ।
यस पर्वमा तरूवा, बरी, दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासीभात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल चरा तथा स्याललाई पनि नैवेद्य दिने चलन छ ।
चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिदिने गरिन्छ । यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चंगा प्रतियोगिता पनि गरिन्छ ।
जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीकरूपमा पनि प्रतिष्ठित रहेको छ ।
नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातावरण, स्वच्छ पानी, स्वच्छ जीउ, स्वच्छ र रूचिकर खानासँगै ताप विरूद्ध लड्ने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वमा निहित सन्देश हो ।
प्रतिक्रिया दिनुहोस्