
काठमाडौं, भदौ ६ । सरकारको विशेष बजार अनुगमन सोमबार पनि जारी रह्यो ।
यसदिन खटिएका १० ओटा टोलीले उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरेको छ ।
आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले सरकारी टोलीले चारओटा पोलिक्लिनिकसहित दुईओटा पेट्रोल पम्पमा सिलबन्दी गरेको बताए ।
टोलीले नख्खुस्थित भेराइटी कोल्ड स्टोरमा खसी र कुखुराको ७८ किलो मासु नस्ट गर्नुका साथै स्टोरको कारोबार पनि बन्द गरिएको पनि उनले बताए ।
त्यस्तै, बजार अनुगमन टोलीले सोमबार यातायात क्षेत्रमा पनि अनुगमन गर्यो । टोलीले चाबहिल र महाराजगन्जमा अनुगमनकाक्रममा १७ ओटा भाडाका सवारी–साधनलाई ‘चिट’ काटेर कारबाही गरेको छ ।
त्यस्तै, पाँचओटा सवारी–साधनले बढी भाडा लिएकोमा यात्रुलाई बढी लिएको भाडा फिर्ता दिलाएको अनुसन्धान अधिकृत विष्णु सुवेदीले बताए ।
यात्रुहरुले भाडाका सवारी–साधनले तोकिएकोभन्दा बढी भाडा लिने गरेको गुनासो गरेका थिए । साथै, समय–समयमा अनुगमन गरिराख्नुपर्ने माग पनि यात्रुहरुले गरेका छन् ।
अनुगमनको अर्को टोलीले बालाजु, माछापोखरीमा अवस्थित तरकारीबजारमा पनि अनुगमन गरेको छ ।
उक्त स्थानमा टोलीले नापतौल नवीकरण, व्यवसाय दर्ता, प्यान दर्ता, र बिल नभएको पाइएको जनाएको छ ।
त्यस्तै, बिक्री स्थलमा खान नहुने सडेका तरकारी भेटिएकोमा टोलीले उक्त तरकारी नस्ट गरेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले वस्तु र सेवाका व्यवसायी इमान्दार हुनुका साथै उपभोक्ता स्वयं पनि जागरुक हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्