Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


अख्तियारकै कर्मचारीलाई १० लाख घुस दिन खोजेपछि…


0
Shares

काठमाडौं, भदौ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतलाई रु १० लाख घुस दिइ प्रभावमा पार्न खोजेको अभियोगमा दुईजनालाई सोमबार पक्राउ गरेको छ ।

आयोगले बन्द अवस्थामा रहेको बुद्ध एकेडेमी आवासीय मावि, जोरपाटीका सम्बन्धमा परेको मुद्दा कमजोर र निष्प्रभावी बनाउन आयोगका अनुसन्धान अधिकृतलाई नै प्रलोभन पारेको पाइएकाले पक्राउ गरिएको हो ।

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङवांगेल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनामछिरिङ शेर्पालाई शेर्पा मल दरबारमार्गबाट रु १० लाख घुससहित पक्राउ गरिएको जनाएको छ ।

सो प्रकरणमा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी भने फरार रहेकाले खोजी जारी रहेको छ ।

यसैगरी, आयोगले सोमबारै सशस्त्र प्रहरी बल नौबस्ता बाँकेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गोपाल मिश्रलगायत तीनजनाले नक्कली बिल भर्पाइ बनाइ रु एक करोड ६६ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रहरीका लागि अत्यावश्यक सामान खरिद गर्ने क्रममा गोप्यरुपले खरिद बोर्ड गठन गरी स्काई वेब इन्टरनेसनल, वर्षा इन्टरनेसनल र जेजे ट्रेडिङ एन्ड इन्टरप्राइजेजसँग मिली सार्वजनिक खरिद ऐनको बर्खिलाफ हुने गरी काम गरेको पाइएको आयोगले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक चित्रबहादुर केसी, प्रहरी हवल्दार नैनबहादुर ओलीलगायत सामान आपूर्तिकर्ता तीनओटै संस्थाविरुद्ध मुद्दा दायर गरिएको छ । रासस