
डिल्लीराज पन्त
कञ्चनपुर, भदौ ७ । सुदूरपश्चिमको सांंस्कृतिक एवं लोकप्रिय चाड गौरापर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । एकताको प्रतीकका रुपमा मनाइने यो पर्वमा विशेषगरी महिलाले शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् ।
सुदुरपश्चिमका विभिन्न मन्दिर तथा घर–घरमा तामा वा पित्तलका भाडाहरुमा विरुडा भिजाएर गौरापर्वको शुभारम्भ गरिएको हो । महिलाहरुले निराहार ब्रत बसेर सगुन गाउँदै गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्च अन्नलाई धोएर भिजाउने गर्दछन । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । यस दिनलाई बिरुडा पञ्चमीको नामले पनि चिनिन्छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले पुरुषले जनै लगाएजस्तै घाँटीमा लगाउने दुबधागो चढाउने गर्दछन् ।
यस पर्वमा पार्वतीले शिव पति पाएझै अविवाहित युवती शिवजस्तै पति पाउन ब्रत बस्छन् भने विवाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दछन् ।
गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यंग्य गर्ने गरिन्छ । गौरा बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैतली, धमारी खेलेर मनोरञ्जन गर्ने चलन छ ।
गौरा पर्व भाद्र पञ्चमीका दिन सुरु हुने गरे पनि समापन भने फरक–फरक दिन गरिन्छ । डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा पर्व मनाईने चलन छ ।
सुदरपश्चिमसँगै गौरा पर्व भारतको कुमाउ गढ्वालमा समेत मनाउने गरिएको छ । गौरा पर्व एक सातासम्म मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्