
फाइल फोटो
म्याग्दी, भदौ ७ । चीनसँगको कोरला नाका पुनः सन्चालन भएको छ ।
चीन र नेपालबीच सन्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ ।
उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुईपटक कोरला नाका खुलाइ व्यापार मेला सन्चालन गर्ने परम्पराअनुसार मेला सुरु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।
वर्षमा दुईपटक आलोपालो गरी चीन र नेपालको भूमिमा व्यापार मेला सन्चालन गर्ने सहमति भएतापनि यो वर्ष दुईपटक नै चीनको भूमिमा मेला सन्चालन भएको छ ।
यो वर्षको गत असार महिनाको १ गतेदेखि २५ गतेसम्मका लागि सन्चालन भएको व्यापार मेला चीनले सुरक्षा चुनौती देखाउँदै पूर्वनिर्धारित् समयभन्दा १० दिनअघि नै बन्द गरेको थियो ।
अहिले कोरला नाकादेखि करिब १० किलोमिटरभित्र चीनको ढोङवासेन जिल्लाको ढोकोमोलोमा व्यापार मेला सन्चालन भइरहेको लोमान्थाङका गाविस सचिव घ्यूर्मी आङग्याल विष्टले जानकारी दिए ।
हिउँद याममा हिउँकै कारण स्थानीयबासीलाई हिँडडुलमा समस्या हुने हुँदा अहिले नै नाका खोली व्यापार मेला सन्चालन गरिएको विष्टको भनाइ छ ।
वर्षको दुईपटक हुने व्यापार मेलामा दुई देशका व्यापारीले आफूलाई चाहिने एक वर्षका लागि मालसामान खरिद–बिक्री गरेर राख्ने गरेका छन् । बर्सेनि असार र भदौमा दुई देशबीच व्यापार मेला हुँदै आएको छ ।
व्यापार मेलामा स्थानीय व्यापारीले दैनिक उपभोग्य वस्तु, बियर, रक्सी, जुस, लत्ताकपडा, काठ, सिमेन्ट, छड, जस्तापाता, सोलार, विद्युतीय सामानलगायतका वस्तु आयात् र खाद्य सामाग्री, चामल, मैदा, उवाँ, केराउ, सुकुटी, चाउचाउ, पस्मिना (ऊन)लगायत स्थानीय उत्पादन निर्यात् गर्ने गरेका छन् ।
व्यापार मेलामा चीनसँगको कोरला नाका खुलाइ चिनियाँ र नेपाली निर्वाधरुपमा आवत–जावत गर्छन् ।
मेला आगामी दुई हप्तासम्म सन्चालन हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्