शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त • Image Khabar Image Khabar


शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त


Imagekhabar
७ भाद्र २०७३, मंगलवार २२:५३

शिशुको मृत्युपछि बसुन्धाराको इशान बाल अस्पताल तनावग्रस्त

काठमाडौं, भदौ ७ । काठमाडौंको बसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारकाक्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुंगामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।

अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन् ।

सोमबार राति १ बजे निमोनियाबाट पीडित तीन वर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

सघन उपचारकक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५.४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जंगमले जानकारी दिए ।

अस्पतालसँग दुईपटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जंगमले बताए ।

उनले भने–‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचारकक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ । छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो ।’

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बिहान तनावग्रस्त भएपनि अहिले वातावरण सामान्य भइसकेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्