
काठमाडौं, भदौ ७ । नेपाल पत्रकार महासंघले २०७३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पत्रकारहरुको न्यूनतम् पारिश्रमिक लागू नभएकोप्रति आपत्ति जनाउँदै त्यसको तत्काल कार्यान्वयन गर्न सरकार र सन्चारमाध्यम व्यवस्थापकहरुको ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट नेतृत्वको टोलीले मंगलबार सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई भेटेर न्यूनतम् पारिश्रमिक र सोबमोजिम तहगत वर्गीकरणको आधारमा मिलान हुने गरी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक बृद्धि गर्न ध्यानाकर्षण गराएको हो ।
महासंघले न्यूनतम् पारिश्रमिक कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
महासंघले राष्ट्रिय आमसन्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, मिडिया प्राधिकरण गठन, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वन गर्न पनि माग गरेको छ ।
यस्तै, महासंघले नेपाली सन्चारमाध्यमलाई सेवा उद्योगकोरुपमा मान्यता प्रदान गरी आवश्यक सुविधा दिन पनि भनेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै सन्चारमन्त्री कार्कीले न्यूनतम् पारिश्रमिक कार्यान्वयनको विषयबाट कोहीपनि पछि हट्न नमिल्ने बताए ।
उनले न्यूनतम् पारिश्रमिक कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्