
काठमाडौं, भदौ ७ । सरकारको विशेष बजार अनुगमन मंगलबार पनि जारी रह्यो ।
अनुगमनका क्रममा अनियमिता र लापरबाही फेलापर्नेक्रम पनि उस्तै रह्यो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा विभिन्न टोलीले मंगलबार पनि राजधानीका बजार अनुगमन गरी कैफियत भेटिएकामा कारबाही गरेको जनाएको छ ।
माँ भगवती स्टोर नयाँबजारमा ८३ केजी खान अयोग्य मासु नस्ट गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यस्तै, नयाँबजारकै चिकेन हट मिट सपमा नक्कली बील प्याड जफत गरिएको, न्यू गोर्खाली फ्रेस हाउसमा १९ केजी प्याकिङ मासु नस्ट गरिएको जनाएको छ ।
यस्तै, त्रिवेणी ग्यास कलेक्सन सेन्टर कोटेश्वर, इनर्जेटिक टे«डिङ हउस ललितपुर र सिद्धार्थ ग्यास कलेक्सन बालकुमारीमा बढी तौल भएका रित्तो सिलिन्डर फेलापरेसँगै सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ ।
यस्तै, सिद्धिविनायक खाद्य स्टोरमा पनि म्याद समाप्त भएका, लेबल नभएका, मिति नखुलेका सामान भेटिएसँगै त्यहाँ पनि सिलबन्दी गरी थप कारबाही अगाडि बढाएको जनाइएको छ ।
यस्तै, जिसम फार्मेसी कोटेश्वर मा नार्कोटिक, प्रतिबन्धित औषधि सामग्री फेलाप री औषधि जफत गरी कारबाही अगाडि बढाएको जनाइएको छ ।
वीर फार्मेसी बिएन्डबि ग्वार्कोमा पनि मूल्यसूची नराखेको पाइएसँगै कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।
टोलीले जावलाखेलस्थित माथिल्लो मुस्ताङ थकाली किचेनलाई खाना पकाउँदा एप्रोन प्रयोग गर्न, भान्सा सफा गर्न एवं फ्रिजको भन्डारण व्यवस्थित राख्न निर्देशन दियो ।
साथै मदिरा सन्चालनको अन्तशुल्क विवरण तीन दिनभित्र विभागमा पेश गर्न पनि निर्देशन दिएको छ ।
जावलाखेलकै पारुहाङ रेष्ट्रो एन्ड बारमा टोलीले लेबल नभएका चाउमिन पाइएसँगै नस्ट गर्यो ।
साथै उक्त रेस्टुरेन्टको भान्सा अत्यधिकरुपमा फोहोर रहेको, आयकर दर्ता नभएको एवं प्यान बिल नभेटिकोले तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
लगनखेलस्थित नमुना भान्छाघर एवं फास्टफुडमा दर्ता कागजात नभेटिएको पाइएसँगै टोलीले तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यस्तै, टोलीले ललिपुरस्थित प्रसादी एकेडेमी एवं युनाइटेड एकेडेमीको क्यान्टिनमा पनि अनुगमन गर्यो ।
दुबै कलेजमा सन्चालित क्यान्टिनलाई सरसफाइमा विशेष ध्यान दिन टोलीले निर्देशन दिएको छ ।
अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले उपभोक्ताको स्वास्थ्यप्रति ध्यान दिएर रेस्टुरेन्ट क्षेत्रमा विशेष अनुगमन भइरहेको बताए ।
उनले होटल एवं रेस्टुरेन्टले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन र नियमावलीअनुसार कारवाही गर्ने बताए ।
साथै, उपभोक्तालाई स्वयं पनि सचेत रहन उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्