४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


गहुँबालीमा आगलागी, ६ लाख रुपैयाँभन्दा बढीको क्षति


0
Shares

हरि शर्मा

परासी, वैशाख १ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका दुई स्थानमा आइतबार दिउँसो आगलागी हुँदा करिब ७ बिगाहामा लगाइएको गहुँबाली जलेर नष्ट भएको छ ।

किसानले भित्र्याउन लागेको गहुँबाली जलेर नष्ट हुँदा करिब ६ लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ । पाल्हीनन्दन गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने कुस्मा गाउँमा लगाइएको करिब साढे ३ बिगाहा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट भएको छ । उक्त क्षेत्रफलमा लगाइएको बाली १० जना किसानको हो । 

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका–४ को लोहरौलीमा आगलागी हुँदा ३ बिगाहा १८ कट्ठा   गहुँबाली जलेर नष्ट भएको छ । उक्त क्षेत्रफलमा २० जना किसानहरुले बाली लगाएका थिए ।

अन्य किसानले काटीसकेको गहुँको नलमा आगो लगाउने क्रममा आगलागी भएको हो । नलमा आगो लगाएको बखत हावा आएको थियो । सोही क्रममा आगो गहुँबालीमा सल्केको प्रहरीले जनाएको छ ।

खेत मलिलो हुने भन्दै तराई क्षेत्रमा गहुँ काटेपछि नलमा आगो लगाउने प्रचलन छ । आगलागी पश्चान रामग्राम नगरपालिकाको दमकल पुगेको थियो । ठूलो क्षेत्रफलमा लागेको आगो नियन्त्रण गर्न दमकललाई मुस्किल भएको थियो ।

लगत्तै अर्को स्थानमा आगलागी भएपछि दमकल पुग्न सकेको थिएन । आगलागी भएलगत्तै गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता किसानहरुलाई आश्वासन दिन पुगेका थिए । गुप्ताले किसानहरुलाई निःशुल्क बिउ, बिजन र मलखादसहित अन्य सहयोगका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आगलागीले ठूलो क्षति हुने गरेको भन्दै अध्यक्ष गुप्ताले दमकल खरिद गर्नका लागि गाउँपालिकाले तत्काल पहल गर्ने बताए । 

पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकामा मात्र एउटा दमकल छ । सात स्थानीय तहमध्ये अन्य पालिकामा दमकल छैन । जसका कारण आगलागीहुँदा हरेक वर्ष जिल्लामा ठूलो क्षति व्यहोर्नु परेको छ ।