२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


अनुगमनले त्रसित बनायो : निजी क्षेत्र, बदमासी रोक्ने कार्यमा सहयोग गर्नोस् : आपूर्ति सचिव


0
Shares

काठमाडौं, भदौ ७ । बजार अनुगमन व्यवसायमैत्री हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । निजी क्षेत्रले अनगुमन गर्ने स्थायी संयन्त्र बनाउन पनि माग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा गरेको कार्यक्रममा अनुगमन उपभोक्ता तथा व्यवसायीहरुमा चेतना अभिबृद्धि गर्ने खालको हुनुपर्नेमा त्यस्तो हुन नसकेको जनाएको छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनुगमनको नाममा निजी क्षेत्रलाई त्रसित बनाइएको बताए ।

‘केही व्यवसायीले गल्ती गरेका होलान् तर सबै व्यवसायीलाई मुछ्न हुँदैन’–उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले कालोबजारीको परिभाषा गर्न माग गरे ।

उनले खाद्यान्नको प्याकेटमा बनेको मिति र मूल्य राख्नुपर्ने विषयलाई सबैले लागू गर्नुपर्ने भन्दै खुलाभन्दा प्याकेटमै खाद्यान्न बिक्री गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले राज्यले निजी क्षेत्रलाई सम्मान गर्दै आइरहेको तर गलत गर्नेलाई कारबाहीको दायरामा ल्याएको बताए ।

उनले गलतकार्य गर्नेलाई कारबाही गर्दा समग्र निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताए । उनले अनुगमनकर्ताको व्यवहार मित्रवत् बनाउने प्रतिबद्धता व्यक्त गरे ।

चेम्बरले म्याद नाघिसकेका र बिक्रीका लागि अयोग्य भनी गोदाममा राखिएका अवस्थामा अनुगमनकोक्रममा छुट दिनुपर्ने माग गरेको छ ।

यस्तै, अनुगमन कार्यलाई व्यवहारिक र मैत्रीपूर्ण बनाउन एवं वस्तु तथा सेवा व्यवसायका सबै क्षेत्रमा अनुगमन गरिनुपर्ने माग चेम्बरले गरेको छ ।