
पोखरा, वैशाख १ । गण्डकी प्रदेशको राजधानी पोखराबाट नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरिएको छ ।
हिजो साँझ आयोजित एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनसँगै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सुरु भएको छ । कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।
मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको पनि बताए । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१७ मा १० लाख र २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएका थिए । यसअघि पनि नेपालमा सन् १९९८ मा भिजिट नेपाल–१९९८ र नेपाल पर्यटन वर्ष २०११ मनाइएको थियो भने सन् १९९८ मा ५ लाख र सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो ।
प्रतिक्रिया दिनुहोस्