२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक जग्गा सीडीओले नै माओवादी केन्द्रलाई प्रयोग गर्न दिएको खुलासा


0
Shares

अनिल तिवारी (इमेज)
वीरगन्ज, भदौ ८ । वीरगन्ज चिनी मिलनजिकैको सार्वजनिक जग्गा नेकपा माओवादी केन्द्रको निजी प्रयोजनका लागि प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

सरकारी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय भने पर्साका प्रमुख जिल्ला अधिकारीले नै गरेका हुन् ।

स्थानीय सिफारिस समितिको हवाला दिँदै प्रजिअ केशवराज घिमिरेले माओवादीलाई भोगचलन गर्न दिने निर्णय गरेको खुलासा भएको हो ।

घिमिरेको सभापतित्वमा यही ५ गते बसेको स्थानीय सिफारिस समितिको बैठकले वीरगन्ज उपमहानगरपालिका–१७ स्थित कित्ता नम्बर–७५ को १ बिग्गा ११ धुरमध्येको जग्गाबाट पाँचकठ्ठा जग्गा दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले पार्टीलाई उक्त जग्गा उपलब्ध गराइदिए पुरस्कारस्वरुप प्रजिअ केशवराज घिमिरेलाई राजधानीको प्रमुख जिल्ला अधिकारी बनाउने वचन दिएको दाबी पनि गरिएको छ ।

उक्त जग्गा माओवादीलाई भोगाधिकारस्वरुप दिएको विरोधमा नेकपा एमालेले बुधबार वीरगन्जमा प्रदर्शनसमेत गरेको छ ।

एमाले कार्यकर्ताहरुले पर्साका प्रजिअ घिमिरेमार्फत् मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, गृह मन्त्रालय र अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णयको विरोधमा विज्ञप्ति निकाली आपत्ति जनाएको छ ।