
काठमाडौं, असार २५ । सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् ।
९० प्रतिशत स्वदेशी कच्चापदार्थमै सन्चालित उद्योगहरु व्यवसायमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् ।
पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगति टेक्स्टाइल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्सलगायत कपडा एवं धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योगीहरुले उक्त गुनासो गरेका हुन् ।
स्वदेशकै श्रमिक र स्वदेशी कच्चापदार्थको प्रयोगमार्फत् देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका कपडा उत्पादन गर्ने उद्योगबारे सरकारले दीर्घकालीन निर्णय लिन नसक्दा उद्योगहरु बन्द हुने खतरा बढेको भन्दै उद्योगीहरुले यस्ता उद्योगलाई प्रोत्साहन दिने खालका नीति ल्याउन आग्रह गरेका छन् ।
उद्योगीहरुले नयाँ आवको बजेटले २० वर्षदेखि पाउँदै आएको ७० प्रतिशत करछुटको व्यवस्था हट्दा नेपाली कपडाको उत्पादन लागत १३ प्रतिशतसम्म बढ्न जाने दाबी गरेका छन् । यसले छिमेकी देशबाट अवैधरुपमा आयात हुने कपडाहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको गुनासो छ ।
राजनीतिक अस्थिरता र उचित नीतिको अभावमा सुनसरीमामात्रै २०४८ देखि खुलेका १४ मध्ये १३ टेक्स्टाइल उद्योग बन्द भइसकेका छन् ।
नेपालभर साना–ठूला गरेर २०० ओटा टेक्स्टाइल उद्योगहरु रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्