श्रीकृष्ण, नारायणी ग्यास उद्योगमा कम तौलका ग्यास सिलिन्डर फेलापरेपछि सिल, कहाँ के ? • Image Khabar Image Khabar


श्रीकृष्ण, नारायणी ग्यास उद्योगमा कम तौलका ग्यास सिलिन्डर फेलापरेपछि सिल, कहाँ के ?


Imagekhabar
९ भाद्र २०७३, बिहीबार ०२:५१

श्रीकृष्ण, नारायणी ग्यास उद्योगमा कम तौलका ग्यास सिलिन्डर फेलापरेपछि सिल, कहाँ के ?

काठमाडौं, भदौ ८ । सरकारको विशेष बजार अनुगमन बुधबार पनि जारी रह्यो ।

अनुगमनकाक्रममा टोलीले विभिन्न स्थानमा अनियमिता र लापरबाही फेलापार्नेक्रम पनि उस्तै रह्यो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा विभिन्न टोलीले राजधानीका बजार अनुगमन गरी कैफियत भेटिएकामा कारबाही गरेको जनाएको छ ।

मोडर्न इन्टिग्रेटेड पोर्क इन्डस्ट्री, ताल्चिखेल ललितपुरमा खान अयोग्य ससेज फेलापरेसँगै साढे ८ किलो ससेज नस्ट गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ ।

कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योग, नारायणी ग्यास उद्योगमा कम तौल भएका ग्यास सिलिन्डर फेलापरेसँगै पसल ‘सिल’ गरी थप कारबाहीका लागि गुणस्तर तथा नापतौल विभागमा पठाइएको छ ।

कालीमाटीस्थित जैसवाल जनरल स्टोर २०६० सालबाट नवीकरण नगरी चलाइएको पाइएसँगै सिलबन्दी गरिएको छ ।

साथै, उक्त स्टोरले २०७१ सालमा अनुगमनकाक्रममा विभागबाट दिइएको निर्देशन पनि पालना नगरेको पाइएकोले थप कारबाही गरिने जनाइएको छ ।

वनस्थलीस्थित एलिसा डेरी एन्ड स्वीट्स प्रोडक्टसमा खाद्य अनुज्ञापत्र नभएको, लेबल नभएको घ्यू बिक्री गरेको र सरसफाइ नभएको पाइएसँगै कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

बालाजु औद्योगिक क्षेत्र स्थित सामूहिक कृषक डेरी (शुलभ दुध)मा खाद्य अनुज्ञापत्रबिना दही बिक्री–वितरण गरेको र सरसफाइमा नभएको पाइएको छ ।

शिव मिष्ठान्न भन्डार नयाँ बानेश्वरमा म्याद नाघेका मिठाइ फेलापरेको र शौचालय र भान्सानजिक रहेको पाइएको छ ।

उक्त मिठाइ पसलबाट म्याद नाघेका मिठाइ एवं मिठाइमा प्रयोग हुने फ्लेवर जफत गरिएको छ ।

अनुगमन टोलीले एअरपोर्ट र पुल्चोक क्षेत्रमा २७ सार्वजनिक सवारी–साधनमा अनुगमनकाक्रममा बढी भाडा लिएको, भाडाको दररेट टाँस नगरको एवं ट्याक्सी मिटरमा जान नमानेको पाइएको भन्दै नसिहत दिएको र काजजपत्र ट्राफिक प्रहरीलाई जिम्मा लगाएको जनाएको छ ।

यस्तै, असन क्षेत्रका १५ खाद्यान्न पसलमा टोलीले अनुगमनकाक्रममा केही पसलमा किरा लागेका एवं लेबल नभएका, म्याद समाप्त भएका खाद्यसामग्री फेलापारेको छ । केही पसलले मूल्यसूची र साइनबोर्ड नराखेको पनि पाइएको छ ।

टोलीले खाद्यपदार्थ जफत गरी त्यस्ता खाद्य सामग्री बिक्री–वितरण नगर्न एवं मूल्यसूची र साइनबोर्ड राख्न पनि निर्देशन दिएको छ ।

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले अनुगमनले बजारमा सुधार देखिएको दबी गरे ।

उपभोक्ताले खाद्यान्नमा भएको अत्यधिक मूल्यबृद्धि कम गर्न अनुगमन जरुरी भएको बताएका छन् ।

उपभोक्ता ठग्ने व्यापारीमाथि ठोस कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्