
काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान र हेलिकोप्टर ठोक्किँनुको कारणबारे खोजी सुरु भएको छ ।
तीनजनाको मृत्यु हुनेगरी भएको दुर्घटना के कति कारणले भयो भन्नेबारे सम्बन्धित निकायले खोजी सुरु गरेको हो ।
यद्यपी, हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट भने आइसकेको छ ।
बिहान ९ बजेर ७ मिनेटमा विमान उड्ने क्रममा रनवेमा चिप्लिँदा हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेको विमान लेट एअरक्राफ्ट हो । चेक गणतन्त्रमा बनेको एल ४०१ टर्बोलेट विमान डोर्नियरसँग मिल्दोजुल्दो मानिन्छ । छोटो दूरीको उडान भर्न यस्ता विमानको प्रयोग हुने गरेको छ ।
विमान र हेलिकोप्टर ठोक्किँदा लागेको आगो भने तत्कालै नियन्त्रणमा लिइएको थियो । तत्काल आगो नियन्त्रणमा लिन नसकेको भए अझै ठूलो क्षति हुने अनुमान गरिएको छ ।
दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भयो । मृत्यु हुनेको संख्या तीन पुगिसकेको छ ।
समिट एयरको एउटा विमान मनाङ एयर र श्री एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा विमानका को–पाइलटर सुदीप ढुंगाना र पर्यटक प्रहरीका सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो ।
लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेका मनाङ र श्री एयरको हेलिकोप्टरमा ठोक्किएको हो ।
दुर्घटनामा विमान चालक रविन्द्रनाथ रोकाया र मनाङ एयरका क्याप्टेन घाइते भएका छन् । घाइतेमध्ये विमान चालक रोकायाको अवस्था गम्भीर छ ।
उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विमानकी परिचालिका आर. लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्