२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नगरोन्मुख गाउँको पूर्वाधार विकास पहिलो प्राथमिकता : सहरी विकासमन्त्री


0
Shares

काठमाडौं, भदौ १० । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नगरोन्मुख गाउँको पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मन्त्रालयमा शुक्रबार पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने–‘नगरोन्मुख गाउँमा सडक, खानेपानी, खुला स्थानलगायत न्यूनतम् सुविधा पुर्‍याएर सुन्दर सहर बनाइनुपर्छ, अव्यवस्थित सहर निर्माण र ठूला भवन बनाउने मानसिकतालाई अब त्याग्नुपर्छ ।’

भूकम्पपछिको पुनःनिर्माणमा मन्त्रालयका तर्फबाट पूरा गरिनुपर्ने दायित्व निर्वाहका लागि उच्च प्राथमिकतामा राख्न मन्त्री केसीले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।

विकास निर्माणमा छुट्याइएको बजेट आव सकिन २२ दिन बाँकी हुँदा ३९ प्रतिशत खर्च हुने र आवको अन्तमा ९८ प्रतिशत पुग्ने प्रक्रियालाई रोक्न सुरुदेखि नै अनुगमनलाई प्रभावकारी बनाइनुपर्नेमा उनको जोड थियो ।

वास्तविक सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तर्गत् कार्ययोजना बनाउन पनि मन्त्री केसीले निर्देशन दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रबाबु श्रेष्ठले सहरमा भएको कृषि भूमि संरक्षणमा मन्त्रालयको ध्यान जानुपर्ने बताए ।

‘आगामी वैशाखभित्रमा विकास बजेटको ८० प्रतिशतको कामसक्ने गरी योजना बनाएर काम गरिनुपर्छ, यसो भएमा मन्त्रालयका लागि यस वर्ष छुट्याइएको बजेटबाट सहरी पूर्वाधार विकासमा महत्वपूर्ण काम हुनसक्छ’–उनले भने ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले २१७ नगरपालिकाको सहरी क्षेत्रमा हाल ४२ प्रतिशत जनसंख्या बसोबास गरेको जानकारी दिए ।

‘सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या बढ्दै जाँदा सहरीकरणमा चुनौती थपिएको छ, बिग्रेका सहरलाई व्यवस्थित गर्ने र नयाँ बन्ने सहरलाई बिग्रन नदिने दायित्व मन्त्रालयमा छ, नगरोन्मुख गाउँमा सहरी अवयवलाई पुर्‍याउनेतर्फ पनि मन्त्रालयको ध्यान गएको छ’–उनले भने ।

चालु आवमा २० हजार जनतामा जनता आवास कार्यक्रम पुर्‍याउने मन्त्रालयको लक्ष्य रहेकोे जनाइएको छ । रासस