
लक्ष्मी लामा/लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असार २५ । मासिक १०० रुपैयाँ शुल्क लिइने समता स्कुल अभियान सन्चालन गर्दै आएको समता फाउन्डेसनले १०० रुपैयाँमै स्वास्थ्य सेवा पनि उपलब्ध गराउन थालेको छ ।
निम्न आय भएका व्यक्तिहरुलाई लक्षित गरी सुरु गरिएको समता स्वास्थ्य संस्था हुने–खानेहरुको पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।
काठमाडौंको मित्रपार्कचोकबाट गुह्येश्वरी हुँदै प्रवेश गरेपछि कुमारीगालमा रहेको यो अस्पतालमा पुगिन्छ ।
बाँसबाट बनाइएको यो अस्पताल बाहिरबाट हेर्दा कटेजजस्तो लाग्छ । तर, गेटबाट छिर्नेबित्तिकै अस्पतालको स्वरुप देख्न सकिन्छ ।
जहाँ १०० रुपैयाँको टिकट काटेर जनरल चेकअपदेखि थाइराइडसम्मको चेकअप र एक्स–रे, इसीजी, इको, अल्ट्रासाउन्डसम्मको सुविधा उपलब्ध हुन्छ ।
यी कुरा झट्ट सुन्दा भने जो–कसैलाई पत्याउन मुस्किल हुन्छ । तर, समता अस्पतालले १०० रुपैयाँमा बिरामीहरुको उपचार गरिरहेको छ ।
अस्पतालमा जनरल फिजिसियन, बाल, नसा तथा हाडजोर्नी, स्त्री, मुटु, छाला तथा यौनरोगका २२ जना विशेषज्ञ डाक्टरहरु उपलब्ध छन् ।
बिरामीले प्याथोलोजी सेवा लिनुपरे या इसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे पनि थप शुल्क तिर्नुपर्दैन ।
अझ रमाइलो कुरा त ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीहरुलाई अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
अपांगता भएका व्यक्ति तथा महिलाका लागि पनि अवस्था हेरेर शुल्कमा छुट दिँदै आएको छ भने औषधि किन्दा पनि ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई विशेष सहुलियत दिने गरेको अस्पतालका संस्थापक उत्तम सन्जेल बताउँछन् ।
यो अस्पतालमा डाक्टरहरुले पनि मन खोलेर सेवा गरेको देख्न सकिन्छ । जसका कारण अस्पताल पस्नेबित्तिकै नयाँ किसिमको अनुभूति हुने गर्दछ ।
निम्न वर्गका व्यक्तिहरुका लागि खोलिएको अस्पताल भएकाले कमजोर तथा अशक्तहरुको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको डाक्टरहरुले बताए ।
अस्पताल सन्चालनका लागि सन्जेललगायतले दुई वर्ष संघर्ष गर्नुपरेको थियो ।
सुरुमा जनरल वार्डसमेत सन्चालन गरिएकोमा कतिपय बिरामीका आफन्तहरुले डिस्चार्ज भएपछि पनि बिरामी नलगिदिएका कारण जनरल वार्ड बन्द गरिएको छ ।
तर, छिट्टै आइसीयु र जनरल वार्ड सन्चालनमा ल्याउने तयारीमा अस्पताल रहेको छ ।
हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख संरक्षकत्वमा रहेको यस स्वास्थ्य संस्थाले यसै शैक्षिक वर्षदेखि १०० रुपैयाँमा पीसीएल र बीएस्सी नर्सिङ कक्षा सन्चालन गर्ने तयारी गरिरहेको छ । आउँदो वर्षबाट बीडीएस कक्षा सन्चालन गर्ने तयारीमा छ । तर, शुल्क भने मासिक १०० रुपैयाँ नै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्