२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एक करोड राशीको इन्द्रभक्त श्रेष्ठ कोष स्थापना


0
Shares

काठमाडौं, भदौ ११ । चेम्बर आन्दोलनका अभियान्ता एवं उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्व. इन्द्रभक्त श्रेष्ठको नाममा एक करोड रुपैयाँ राशीको अक्षयकोष स्थापना गरिएको छ ।

स्व. श्रेष्ठको शनिबार ललितपुरमा आयोजित ९३औं जन्मजयन्ती कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं स्व. श्रेष्ठका छोरा रविभक्त श्रेष्ठले एक करोडको अक्षयकोष स्थापना गरिएको जानकारी गराएका हुन् ।

स्व. इन्द्रभक्त श्रेष्ठले स्थापना गरेको ‘इन्द्र–जवाहर सहयोग गुठी’ले संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई स्नातकोत्तर तहको अध्ययन गराउन कोष स्थापना गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा एमबीए तहमा अध्ययन गर्ने जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका दुईजना विद्यार्थीलाई इन्द्रभक्त श्रेष्ठ छात्रबृत्ति कोषबाट पूर्णछात्रवृत्ति प्रदान गरिने छ ।

साथै एमबीए तहमा सर्वोत्कृष्ट अंक ल्याइ उत्तीर्ण गर्ने एकजना विद्यार्थीलाई ‘इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक’ प्रदान गरिने पनि रविभक्त श्रेष्ठले बताए ।

कार्यक्रममा स्व. इन्द्रभक्त श्रेष्ठले आफ्नो जीवनकालमा लेखेको आत्मकथा ‘मेरा सम्झना’को दोस्रो संस्करण पनि सार्वजनिक गरियो ।

उनको सम्झनामा ललितपुरको हात्तीबनस्थित आइजे पायनियर स्कुलमा एक संग्रहालय पनि स्थापना गरिएको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले स्व. श्रेष्ठले देखाएको बाटोमा हिँड्नसके निजी क्षेत्रको साथै देशको पनि आर्थिक विकास छिटो हुने बताए ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्वअध्यक्षहरु महेशलाल प्रधान, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, चण्डीराज ढकाल, चेम्बरका पूर्वअध्यक्ष सुरेशकुमार बस्नेत, महेशकुमार अग्रवाललेलगायतले स्व. श्रेष्ठले नेपालको औद्योगिक र व्यापारिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।