
काठमाडौं, चैत ३० । सहकाल र करुणाका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु भएको छ ।
बाजागाजासहित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई साँझको साइतमा रथारोहण गरेपछि रथयात्रा सुरु भएको हो ।
हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन जमलनजिकको तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई पहिलो दिन असन पुर्याइन्छ ।
दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ ।
चौथो दिन लगनमा रथ घुमाइन्छ ।
पाँचौं दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छिन्द्रबहालसम्मको यात्रा गराएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिन्छ ।
किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रमा एकजना ज्यापूले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेलापारेका थिए ।
उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाउँदा भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याइ जनबहालमा मन्दिर स्थापना गरिएको जनविश्वास रहिआएको छ ।
सोही परम्पराअनुसार मूर्ति फेलापरेकै स्थान जमलमै रथ बनाउने चलन रहेको हो ।
धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरकारूपमा पूज्ने परम्परा छ ।
शनिबार रथयात्राका लागि काठमाडौंको जनबहालबाट सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर दरबारमार्गस्थित तीनधारा पाठशालामा बनाइएको रथमा राख्न लगिँदै गर्दाको तस्वीर हेर्नोस् ।
प्रतिक्रिया दिनुहोस्