
काठमाडौं, भदौ १२ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको मृत्यु भएको छ । काठमाडौ बाँसबारीस्थित न्यूरो अस्पतालमा ७० वर्षको उमेरमा उनको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिएका हुन् ।
उपचारकै क्रममा उनको शनिबार राति साँढे १० बजेतिर अस्पतालमै निधन भएको हो । २०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।
२०७० साल बैशाख १२ गते काठमाडौं राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै अर्धचेत भएका पूर्व मन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यक्रिया गरिएपनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई सिंगापुर लगेर थप उपचार गरिएको थियो । दुर्घटना पछि उनी बोल्न र चल्ल नसक्ने भएका थिए ।
प्रतिक्रिया दिनुहोस्