३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


बस दुर्घटनामा सात शिक्षकको मृत्युभएपछि आज रौतहटका विद्यालय बन्द


0
Shares

रौतहट, भदौ १२ । गत शुक्रबार चितवनको चण्डीभञ्याङ्ग गाविसको कालिखोलामा भएको बस दुर्घटनामा रौतहटका सात शिक्षकको मृत्यु भएपछि शोक मनाउन आज जिल्लाका सबै विद्यालय बन्द गरिएको छ ।

नेपाल शिक्षक महासंघको आह्वानमा एक दिन रौतहटका सबै शिक्षण संस्था बन्द गरिएको हो ।

शिक्षा सेवा आयोगले शनिवार पोखरामा लिएको निम्न माध्यमिक तहको शिक्षक पदको परीक्षामा सहभागि हुन जाने क्रममा चितवनको चण्डिभञ्याङ्ग गाविसको कालिखोलामा गत शुक्रबार विहान ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी ट्राभल्सको दुर्घटना भएको थियो ।

नेमधारी वासुदेव उच्च माध्यमिक विद्यालय मुडबलवामा कार्यरत शिक्षक चित्ररञ्जन यादव, सन्ध्या श्रीवास्तव, सचिन्द्र यादव, गणेश साह, राजेश यादव, राकेश यादव, रामबाबु जेयसवालको मृत्यु भएको थियो ।

उक्त बस दुर्घटनामा परेका अझै ११ जना बेपत्ता रहेका भन्दै बेपत्ताका आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका छन् ।

बेपत्ता हुनेमा रौतहटको गरुडा ५ का सञ्जयकुमार यादव, रौतहटको मुडवलवा २ का रामवालक प्रसाद जैशवाल, वडा नम्बर ३ का रवीरञ्जन यादव, वडा नम्बर ८ का मुकेश राम बेपत्ता भएका हुन् ।

त्यस्तै रौतहटका राजापुर फरहदवा ६ का ललनकुमार कलवार, रौतहटको खेसरैया ६ का विश्वनाथ शाह, झुन्खुनवा ८ का दीपेन्द्र साह, कटहरिया ४ का शम्भुप्रसाद यादव, गौर नगरपालिकाका राकेशकुमार गुप्ता र चन्द्रनिगाहपुर ३ की पुनम देवी शाह र सर्लाही सुदामा ८ का राजिवकुमार सिंह रहेका छन ।