विद्रुप मनस्थिति नेपाली साहित्यमा देखा पर्न थालेको छ : युवा साहित्यकार कृसु क्षेत्री • Image Khabar Image Khabar


विद्रुप मनस्थिति नेपाली साहित्यमा देखा पर्न थालेको छ : युवा साहित्यकार कृसु क्षेत्री


Imagekhabar
१३ भाद्र २०७३, सोमबार १५:४०

विद्रुप मनस्थिति नेपाली साहित्यमा देखा पर्न थालेको छ : युवा साहित्यकार कृसु क्षेत्री

विलयन लेखनका प्रवद्र्धक मध्येका एक कृसु क्षेत्री गजल र कविताका क्षेत्रमा प्रसिद्ध छन् । विभिन्न साहित्यिक संघसस्थामा आवद्ध उनी पछिल्लो समयमा गीत लेख्नमा लोभिएका छन् । प्रस्तुत छ – उनको साहित्यिक लेखन र समसामयिक नेपाली साहित्यका बारे क्षेत्रीसंग गरिएको कुराकानी :
कविता र गजलमा साधनारत तपाई, पछिल्ला दिनहरुमा गीत लेखनमा सक्रिय देखिनुहुन्छ , गीत, संगीतले लोभ्याएको हो ?
गीत संगीतमा नलोभिने मान्छे प्राय भेटिदैन । म पनि त्यसबाट पृथक् छैन । कविता लेखनबाट सुरु भएको मेरो लेखन यात्रामा गजल २०४३ देखि २०५७ सालसम्म मात्र लेखँे कविता अद्यापि लेख्दैछु । कविता र गजलकै एउटा पाटोको रुपमा गीत लेखन पनि चलिरहेको छ । तर फाट्टफुट्ट रुपमा मात्र प्रकाशन गर्ने गरेको थिएँ । स्वरबद्ध बन्ने क्रम भने चाहीँ सारै पछि मात्र सुरु भयो । म बर्मामा हुँदा मित्र मनोज न्यौपानेजी र युवा गजल गायक दिनेश गौतमले गजलको सी.डी. “माफ गर” निकाल्नुभयो त्यसमा मेरो ४ वटा गजल परेका रैछन् । अहिले अमेरिकामा रहँदा वर्तमानका चर्चित गायक हिमाल सागरले मैले चालीसको दशकमा लेखेको गजल “तिम्रो रुप देखेर” लाई गीत बनाएर गाउनु भयो । जुन चर्चित पनि भयो । रेडियो टी.भी. तथा यूट्युबमा बज्न थाले पछि मात्र मलाई गीत लेखनमा सक्रिय भएजस्तो देखिएको हो ।
गीतमा विलयनको सिद्धान्त लागुहुन्छ कि हुदैन ?
एउटा प्रयोगकै रुपमा सुरु गरौं न । हामीले कविता कथाबाट सुरु गरेको यो विलयन लेखनको यात्रालाई गीतमा प्रयोग गर्न सकिन्छ कि भन्ने सोच राख्नु त मेरो लागि पनि एउटा सकारात्मक सोच नै हो नि हैन र । विलयन कुनै विधामा सीमित गरिने सैद्धान्तिक दर्शनभन्दा समग्रमा सोचिनु पर्छ भन्ने मेरो आग्रह हो । यो समाज विलयनले देखाएको र अंगीकार गरेको दर्शनका आधारमा साहित्य, संस्कृति र समग्र राजनैतिक परिवर्तनको दिशामा अग्रसर हुँदा कस्तो होला हाम्रो कल्पना त त्यही हो । जब समग्र भाषा, साहिय, संस्कृतिका कुरामा विलयन दर्शन जोडिएर आउँछ त्यसबेला गीत मात्र अलग हुन्छ भनेर कहाँ सोच्न सकिन्छ र ?
असफल कवि गीतकार बन्छ भन्ने सन्दर्भलाई कसरी लिनुहुन्छ ?
सफलता र असफलताको मापक के हो ? अखबारी लेखन वा सोसल मिडियाका लेखनको प्रतिक्रिया  वा केही प्रायोजित समालोचकको अर्थहीन समीक्षा । वा नेपालका मिडिया हाउसले जवर्जस्ती बनाएका महान लेखक । यस्ता अर्थहीन व्यापारिक प्रचार लेखकको सफलताको सूचक हुन सक्दैन । कवि असफल हुँदा गीतकार बन्छ भन्ने ठाकुरजीको प्रश्नजस्तै लगभग मैले पनि त्यस्तै सोच्छु । म पनि कविता लेख्न छाडेकै अवस्थामा नै गीततर्फ पाइला चालेको भएर ठाकुरजीले उठाउनु भएको प्रसंगलाई हैन भन्ने अवस्था छैन । तर पनि मेरो आफ्नै कुरा गर्दा त म कहिल्यै कविता वा गजलमा पनि त सफल व्यक्तित्व हैन । रहरले लेखेँ रहरले नै प्रकाशन गरेँ । मनमौजी तालको लेखक के सफल के असफल । लेखेर जीवन निर्वाह गर्नु पर्ने वा लेखेरै चर्चा कमाइरहुँ भनेर कहिल्यै नलाग्ने भएकोले पनि सफलता वा असफलताको कुनै प्रश्न नै रहेन । म कवितामा सफल भएर कवितामा नै निरन्तरता दिने वा असफल भएर गीत लेखनतर्फ लागेँ सोच्नै पर्दैन ।
पछिल्ला दिनहरुमा कविहरु आख्यानमा आकर्षित बनिरहेका छन्, तपाईको पनि कुनै योजना छ कि ?
कविताका पुस्तकहरु विश्वमा सबैभन्दा बढी प्रकाशित हुन्छन् र कम बिक्छन् । बजारु साहित्यमा उपन्यास, छोटा कथाहरुको प्रभाव देखिन्छ । सायद त्यसकै लालचले पनि कविहरु पछिल्ला दिनमा आख्यानतर्फ आकर्षित भएका हुन् । विशेष गरी नेपालका नाम चलेका मिडिया हाउसहरुको प्रचारप्रसारका कारण र नेपालका केही नाम चलेका पुरस्कारहरुपनि आख्यान विधालाई मात्र पाइरहने लोभका कारण पनि आख्यानतर्फको आकर्षण बढेको हो । त्यसका अतिरिक्त आख्यानले जीवनका आयामहरुलाई विस्तृत रुपमा चर्चा परिचर्चा गर्न सकिने र सांगोपांगो चित्रण गर्न सकिने भएकाले पनि आख्यानतर्फको आकर्षण बढिरहेको छ । व्यक्तिगत रुपमा मेरो प्रिय विधा कविता हो । पाठक वा प्रचारका हिसाबले मेरो मान्यता परिवर्तन हुन सक्दैन । भविष्यमा यस विधामा लेख्दै लेख्दिनँ भन्ने कुनै प्रण गरेको अवस्था पनि अहिलेसम्म छैन ।
विलयन लेखनको अवस्था कस्तो छ ?
यथार्थ कुरा गर्नु पर्दा विलयन लेखन सुस्ताएको अवस्थामा छ । सबै आधारले विलयन लेखनको प्रचारप्रसारमा विशेषतः आर्थिक तथा सामाजिक कारणले अलि बढी प्रभाव खेल्न सक्ने म यता छु अन्य दुई जना साथीहरु आफ्नै वैयक्तिक कारणले विलयनको लागि समय दिन भ्याइरहनु भएको छ । आन्दोलन सुरु गर्दाको हलचल र होहल्ला कम भएको स्वभाविक हो जसमा मेरो सरकारी जागीरले विदेशमा रहनु पर्ने कारण पनि हो । २००५ जनवरी १ मा यसका दर्शन घोषणासँगै “आगोको मूच्र्छना” कृति निकाल्दा नेपाली साहित्यमा तरंग सिर्जना गरेको थियो भने अहिले त्यो सुस्ताएर सामसुम्म भएको अवस्था छ । तर निकट भविष्यमै हामीले विलयन सम्बन्धी रचनाहरुको संकलन गरेर प्रकाशित गर्दैछौं सायद त्यसले मुर्झाउन सकिने आशा जगाएको छ । विलयन लेखन प्रवर्तन गरेको केही समयमै नेपालका अतिरिक्त विश्वका धेरै मुलुकमा प्रचार भएको पाएँ । बर्माका कुनाकुनामा नेपालीहरुले रुचाएको त अरबका खाडीसम्म फैलिएको पाएँ । यसलाई कुनै प्रचारप्रसार नगर्दा पनि नेपाली साहित्यका पाठकले रुचाएको विषय भएको छ । यसका पक्षमा लेख्नेहरु पनि भेटिए भने इष्र्यावस विलयनको अर्थ नबुझी आफ्नो कृतिमा नाम नराखी नै लेख्ने गरेको पनि भेटियो । जुनसुकै हिसाबले होस् पाठकको मनमा विलयन बसेको प्रमाण हो यो । विलयन लेखन मै लेखिएका कविता, गजल र मुक्तकका संग्रहहरु पनि निस्किसकेका छन् ।
कुनै स्रष्टाले प्रतिवादन गरेको सिद्धान्त या वाद पछिल्ला या अन्य स्रष्टाले पनि पछ्याएमा त्यसको अस्तित्व रहन्छ , विलयनका अनुयायी कति होलान ?
निश्चय नै पनि कुनै वाद वा सिद्धान्त लामो समय सम्म रहने वा अस्तित्वमा रहने कारण पनि उसका अनुयायी नै हुन् । तर नेपालको सन्दर्भमा वाद या सिद्धान्त लामो समयपछि पनि प्रचलित भई पाठकहरुमाझ लोकप्रिय बन्ने गरेको छ । श्रद्धेय आई.बी. राईले सुरु गरेको लीलालेखन लामो समय पछि मात्र प्रचारमा आयो । त्यस्तै विश्वमा सुरु भएर छाड्न सुरु गरिसकेका विनिर्माण वा उत्तरआधुनिकता बल्ल नेपाली साहित्यमा आउन थालेको छ । प्रयोगवाद, तेस्रो आयाम र तरलवाद त अनुयायी बेगर नै पनि चर्चामा आइरह्यो र हराएर गयो । प्रगतिवाद वा समसामयिक लेखनमा जस्तो समूह नै प्रचारप्रसार गर्ने साहित्यिक वादहरुको खोजी गरेको हैन विलयन लेखनले । फेरि मतदाता संख्या वा धार्मिक समूहका अनुयायीजस्तो संख्या गनेर साहित्यको आन्दोलन अगाडि बढ्दैन, बढ्न सक्दैन । दर्शनले मान्यता पाउँदै गएपछि नै स्थापित हुने हो । यो स्थापित हुनलाई लामो कालखण्ड पनि लाग्न सक्छ । हामी आफैंले थाहा नपाउन पनि सक्छौं । सुकरातले ह्यामलेख पिएको शदीऔं वर्ष पछि पनि उनको आदर्श बाँचेकै छ । गान्धी, मार्टिन लुथर किंग पनि मारिएर बाँचेकै हुन्छन् एउटै कारणले हो उनीहरुको आस्था र दर्शन बाँचेको हुन्छ । विलयन लेखन पनि त्यस्तै स्वतन्त्रताको पक्षमा परिवर्तनको पक्षमा विश्वशान्तिको पक्षमा लेखिएको विश्वको नवीन आन्दोलन हो । यसले आफ्नो स्थायित्वलाई लामो समय लिन सक्छ भन्ने मलाई लाग्छ ।
विलयनका अनुयायी कति होलान भनेर संख्यात्मक रुपमा किटान गरेर भन्न सक्दिनँ म । यो नेपाली साहित्यका आम पाठकले रुचाएको एउटा दार्शनिक धारणा हो जसलाई नेपाल, भारत, बर्मा, मलेसिया, अरब खाडीहरु, अमेरिका तथा यूरोपेली क्षेत्रहरुमा जहाँजहाँ नेपालीहरुको फैलावट छ त्यहाँ फैंलदै गएको प्रस्ट अनुभूतिगर्न सकिन्छ ।
तपाईको पछिल्लो लेखन के छ?
पछिल्लो समयको लेखन ठप्पको अवस्थामा छ । बंगलादेश, बर्मा, ओमान हुँदै अमेरिका आइपुगेको छु । मैदानमा खेल्न ल्याइएको भकुण्डोझैं गुज्री रहेको छ जीवन । तर यिनै मुलुकहरुमा संगालेर असीमिति अनुभव, दुःख पीडालाई टिपोट गरेर राखेको थिएँ त्यसलाई संस्मरणको रुपमा प्रकाशन गर्ने सोच बनाउंदै छु । यदाकदा कविता लेखि टोपलेको छु । सबैभन्दा अनौठो कुरा कहिल्यै नचाहेको गीतकार भएर दर्जनौं गीतहरु लेखेर गायकलाई दिएको छु । सायद गीतलेखन नै पछिल्लो लेखन होला जस्तो लागेको छ मलाई ।
जागिरले लेखन उर्जालाई असर पार्ने रहेछ हो ?
पूर्णकालीन लेखक बन्नलाई जागीरे जीवनले साह्रै असर गरेको हुन्छ त्यो सर्वथा सत्य हो । मलाई पनि सरकारी जागिर सुरुवात गर्नुभन्दा पहिले धेरै लेखें हुंला भन्ने अझै लाग्छ तर पनि लेख्न त छदैंछ । दिनभरी फाइल टिप्पणी र तोक आदेशको जागिर खानु पर्ने अनि दुःखमा पीडामा परेका दाजुभाइ दिदीबहिनीहरुको समस्यामा केन्द्रित रहनु पर्ने कारण र कार्यालय समयपश्चातको बांकी समय पनि तीनै दुःख वेदनाले मस्तिष्कमा वास गरेको कारण नयां विषय लेख्न खालि समय नै हुन्न ।तर मेरो सरकारी सेवा देशविदेश घुमिरहनु पर्ने भएकाले त्यहांको वातावरण र भिन्न परिवेशले छोएपछि लेखनलाई नयां विम्ब, नवीन प्रतीक र नुतन परिवेशले अन्तष्करणमा सिर्जना गर्न ठूलो दबाब दिन्छ त्यही नै हो उर्जा । अन्यथा समयको व्यवस्थापनको अभाव, जागिरे बाध्यता र सीमा त लेखनका लागि नकारात्मक उर्जा नै हो भन्न हिचकिचाउनु पर्दैन ।  लाग्छ कहिलेकाहीं लेखनलाई निरन्तरता दिन पनि जागिर त चाहिंदो रहेछ । एउटा स्वावलम्बी, आदर्शयुक्त तथा स्वाभिमानी जीवन दिएको छ मेरो परराष्ट्रको जागिरले । आजसम्म कसैसँग दयाको भिख माग्दै झुक्नु नपरेको कसैलाई मोलाहिजा गर्नु नपरेको कसैलाई जानी जानी दुःख वा बाधा दिनु नपरेको जागिर परराष्ट्रमै छ मेरो अनुभवको । बरु यसै सेवाबाट मानिसका असह्य पीडा पखाल्ने प्रयास गरेको छु । असहायको सहारा बन्ने प्रयास गरेको छु दुःखी गरीबको आँसु पुछ्नलाई समय लगाएको छु । प्रवासमा रहेका नेपालीहरुलाई आफ्नै परिवारको रुपमा भरोसाको बात, साहसको साथ र मायाको हात दिएको छु । मरुभूमि वा अन्य विरानो ठाउँमा अपनत्व प्रदान गरेको छु । अरबका खाडी होस वा बर्माका पाखा पखेरा वा अमेरिकाका कंक्रिट जंगल, मैले मेरा नेपाली बन्धुवान्धवबाट माया ममता र स्नेह र आशीर्वाद पाएको छु । मेरो कामबाट आज पनि लेखनका लागि कुमारी विषय पाएको छु । यस्तै अपनत्व यस्तै माया स्नेह मेरा धेरै रचनामा सिर्जित भएका छन् । सोच्छु कहिलेकांही जागिरे कृसु र कवि कृसुमा पृथक गराउनै नसकिने सम्बन्धको विकास भएको छ ।
 नेपाली साहित्यको अवस्था कस्तो देख्दै हुनुहुन्छ ?
नेपालमा एकमात्र सजीव इतिहास भएको नेपाली भाषामाथि आज सर्बत्र आक्रमण गरिएको देखिन्छ । विदेशमा रहंदा आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने राष्ट्रभाषा कमजोर हुनु समग्र मुलुक कमजोर हुनु मात्र हैन राष्ट्रिय पहिचान हराउंदै जानु हो । केही वर्षदेखि राज्य कमजोर पार्न भाषा, संस्कृतिमाथिको आक्रमणबाट जोगाउनु परेको छ नेपाली साहित्य र साहित्यकारलाई । जब हाम्रो भाषा साहित्य लोपोन्मुख हुनेछ तब कहां नेपाली साहित्यकार र साहित्यको भविष्यको सवाल हुन्छ । यो आजको संगीन प्रश्न हामीमाथि आइपरेको छ । वर्तमानमा स्रस्टाहरुको संख्या अधिक बढेको छ । मिडिया, सामाजिक सञ्जालले असंख्य साहित्यकारहरुको निर्माण गरिरहेको छ । केही नाम चलेका ब्रोडसिटका पत्रिका तथा प्रकाशन गृहले साहित्यिक व्यापार पनि गरिरहेको देखिन्छ । त्यति हुंदाहुंदै पनि वर्तमानमा भाषा साहित्य ठूलो संकटमा परेको छ । यथार्थ स्रस्टा संकटमा छ र वास्तविक साहित्य मर्दै जाने सन्त्राशमा छ । आफूले विगतमा गरेका गल्ती ढाकछोप गरी प्रशस्ती गाउने कृतिहरु घोस्ट राइटरलाई लेख्न लगाउने, अहम्को बढाईं चढाईं गर्ने मपाइत्व प्रदर्शन गर्ने ठूला ठूला होर्डिंग बोर्डबाट प्रचारप्रसार गरेपछि मात्र उत्कृष्ट कृति हुने जस्ता अनावश्यक व्यापारिक साहित्यको विकास भएको देखिएको छ भन्ने वास्तविक साहित्यकारको गुनासो सुनिदैंछ । मिडियामा अलि पकड भएका तर लेखनमा स्तर नभएका साहित्यकारहरुको छायांमा नेपाली साहित्य पर्दै गएको भन्ने गुनासो पनि सुनिदैं गएको छ । गुनासोकै क्रममा मातृभाषा नेपालीकै स्रस्टाभन्दा जातीय चेतनायुक्त स्रस्टाहरु समूहगत नेपाली भाषा साहित्यमाथि आक्रमण गर्ने गरेको र केही साहित्यकारहरु समूह, वादको पछ्यौरी ओढेर राजनीति गर्दै आएको भन्ने पनि हामी प्रवासमा रहंदा सुन्न पाइन्छ । यी सबै वर्तमानका अप्ठ्याराबीच पनि राम्रा कृतिहरु प्रकाशन भइराखेका र राम्रा लेखकहरु स्थापित भइराखेको अवस्था छ ।
‘पप ‘साहित्यको बजार छ भन्नछन् , तपाई के भन्नुहुन्छ ?
पप साहित्य केलाई भन्ने ? लेखनलाई पूर्ण साहित्यिक गुणवेत्ताको आधारमा नहेरी व्यापारिक सोच बनाउने धारणालाई भन्ने हो भने त्यो नेपालमा भित्रिएको छ । अस्ति भरखरै एक विद्धान पत्रकारले आफ्नो एउटा लेखमा एकजना धनी व्यापारी साहित्यकारको प्रशंसामा अतिरञ्जना लेखे पछि मैले नकारात्मक टिप्पणी गरेको थिएँ । कविता विश्व भ्रमण गरेर सुनाउँदै हिंडेर, मिडिया हाउसबाट होहल्ला गरेर, घोस्ट राइटरहरुलाई लेखाएर वा टोलटोलमा लेखकको हस्ताक्षर गरेर या बिक्रीको आधारमा बाँच्ने भए प्रोनोग्राफी सबैभन्दा सशक्त साहित्य हुन्थ्यो । लुकी लुकी हजारौं प्रति एकदिन मै बिक्छ भने लाखौं जनाले पढेकै हुन्छन् । पपसाहित्यपनि एकप्रकारको प्रोनोग्राफी हो । यस शैलीको प्रचारले यथार्थ साहित्य रचनालाई कुनै असर गर्दैन बरु लेखनलाई अझ सशक्त र गम्भीर बनाउन मद्धत गरेकै हुन्छ । बाँकी त साहित्य कसरी अगाडि बढेको छ त्यसको दृष्टान्त मैले
माथि चर्चा गरेकै छु ।
साहित्यमा संक्रमण लागेको हो कि होइन ?
साहित्यमा संक्रमण लागेको हैन सोचमा संक्रमण लागेको हो । हाम्रो सोच दारिद्र्य भएको हो । फिल्ममाझैं चाँडै चर्चा खोज्ने विद्रुप मनस्थितिको उपज नेपाली साहित्यमा पनि देखा पर्न थालेको छ । देवकोटा, भूपी, मोहन कोइराला, दौलत विक्रम, ध्रुवचन्द्रको किताव एकहजार कपी छापिन्छ मेरो ५ हजार छापिन्छ । मेरो बारेमा पत्र पत्रिकामा विज्ञापन आउँछ, मेरो हस्ताक्षर महोत्सवमा गराइन्छ । मेरो बारेमाकथित समालोचकले राम्रो लेखेको छ भनेर मपाईंत्व प्रदर्शन गर्ने पागलपनको संक्रमण छ नेपाली साहित्यमा । गुट र उपगुट केन्द्रीत साहित्य बनाउने, जातीय विभेद र पहिचानको कुरा गर्ने अनि त्यसमै रमाउने एउटा संकीर्ण सोच आएको छ । सँगै पुरस्कार बोकेर राजनीति गर्ने, सौदावाजी गर्ने जस्ता सोचले हो हाम्रो साहित्य रोगी जस्तो देखिएको । तर निरन्तर साहित्य साधकको यात्रा र हात्तीको यात्रालाई म तुलना गर्छु । गाउँ पुग्नेबित्तिक्कै ठूलो स्वरमा भुक्नेहरु गाउँबाटअलिपर पनि पुग्न सक्दैनन् । उनीहरुको आवाज त्यसै त्यसै बिलाएर जान्छ । कहिलेकाँही चन्द्रमाभन्दा राँको उज्यालो देखिन्छ तर त्यसको सीमा बलेको क्षेत्र वरिपरि मात्र हो । वास्तविक भाषासेवी, साहित्य सेवी साधकहरु तचन्द्रमा हुन् । उनीहरुलाई अनावश्यक चर्चा र प्रचारभन्दा टाढा बसेर भए पनि साहित्य सेवामै दत्तचित्त भइरहनुपर्छ ।
तर गुट उपगुटका सिण्डिकेट त देखिन्छ  नि ?
मैले माथि नै भनेँ । गुटउपगुट छ भनेर । ठूला ठूला गुटउपगुट त छदैंछ ससाना कफीसप बस्ने खालका उपगुट पनि छन् । अहिले मलाई झन्नै १५ वर्ष पहिले होला वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले “कृसु एउटा गुटको नायक भएका छन् । उनको गुटमा गोवद्र्धन पूजा, ठाकुर बेलबासे, मनोज न्यौपाने जस्ता सशक्त साहित्यकार र सोमनाथ सुवेदी, अनमोलमणि, बुद्धिसागर, प्रतिरोध कार्की, अमोघ काफ्लेजस्ता चर्चित युवाहरुको झुण्डमा रमाउँदै छन्” भनेर गर्नु भएको व्यंग्य सम्झनामा ताजै छ । नगर्दा नगर्दै त गुटउपगुटको नाम आइरहने हाम्रो लेखन क्षेत्रमा प्रशस्तमात्रामा गुट उपगुट केन्द्र निर्माण भएका छन् । राजनैतिक आदर्शको नजिकले बन्ने, स्वार्थवश बन्ने गुटउपगुटसँगै अर्काले खुवाइदिएको भरमा कुराको खेती गरिरहने झुण्डहरु पनि बनेका छन् भनेर सुनिन्छ । जबसम्म यस्ता प्रवृत्तिहरु रहिरहन्छन् लेखकीय मूल्य र मान्यताहरु बिलाउँदै गएको हुन्छ । तर ठाकुरजी तपाईं आफैं नेपाली कविता क्षेत्रको एउटा सशक्त हस्ती हो तपाईंको लेखनलाई त सिन्डिकेटले केही असर गरेको छैन नि । नेपाली लेखनलाई सिन्डिकेट मुक्त गरौं भनी रहनै पर्दैन यो स्वतः हट्छ । बिस्तारै हराउँदै जान्छ ।
लेखनको कुनै विशेष योजना छ यो वर्ष ?
अमेरिका आइपुगेको छु । खासै त्यस्तो विशेष योजना बनाएको छैन । तर पनि यहाँको प्रविधि, यहाँको सोच र स्तरलाई अलिकति कतै न कतै सदुपयोग गर्न पाए हुन्थ्यो भन्ने सोचाइमा छु । नेपालका कविहरुको कवितालाई अंग्रेजीमा र अमेरिकामा रहेको नेपाली कविहरुलाई अमेरिकी प्रतिनिधि नेपाली कविको रुपमा संकलन गरेर प्रकाशन गर्ने पनि सोच छ । मेरै पनि झन्नै दुई दर्जन देशहरुको भ्रमणका टिपोटलाई संस्मरणको रुपमा प्रकाशन गर्ने सोच बनाएको छु । तर ठाकुरजी तपाईंलाई थाहै छ यो कूटनीतिक जागीर । समय व्यवस्थापन गर्न मुस्किल परेको छ । केही कविताहरु अमेरिका आएर नै लेख्छु भनेर सोच्दैछु त्यही नै हो ।

प्रतिक्रिया दिनुहोस्