
काठमाडौं, भदौ १३ । सरकारको विशेष बजार अनुगमन सोमबार पनि जारी रह्यो ।
विभिन्न स्थानमा अनियमिता एवं लापरबाही फेलापर्ने र कारबाही प्रक्रिया अगाडि बढाउनेक्रम पनि उस्तै रह्यो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा विभिन्न टोलीले राजधानीका विभिन्न क्षेत्रका बजार अनुगमन गरी कैफियत भेटिएकामा कारबाही गरेको हो ।
टोलीले कोटेश्वर क्षेत्रमा ११ ओटा खाद्यान्न पसलमा अनुगमनकाक्रममा म्याद नाघेका एवं लेबल नभएका मसला, दाल, चाउमिन, कोल्डड्रिंक्सलगायतका खाद्य सामग्री जफत गर्यो ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको नेतृत्वमा रहेको टोलीले कोटेश्वर सेती ओपी मार्गस्थित रेग्मी स्टोर, शुभलक्ष्मी स्टोर, शशा मार्ट, मीना किराना स्टोर, पशुपति स्टोर, सोम किराना स्टोरलगायतमा अनुगमन गरेको हो । अनुगमनमा धेरैजसो पसलमा व्यवसाय दर्ता नवीकरण नगरेको पाइयो ।
यस्तै, केही पसलमा नापतौल यन्त्र प्रमाणित नगरिएको पनि पाइएको छ । टोलीले पसलहरुलाई तीन दिनभित्र व्यवसाय दर्ता नवीकरण एवं नापतौल प्रमाणित गर्न निर्देशन दिएको छ ।
त्यस्तै, टोलीले दैनिक मूल्यसूची ‘अपडेट’ गर्न पनि निर्देशन दिएको छ ।
अनियमितता गर्ने व्यापारीहरुलाई साँच्चिकै कारबाही हुनेमा उपभोक्ताहरु ढुक्क हुन सकेका छैनन् ।
अनुगमन अधिकृत पोख्रेल भने अनुगमनले बजारमा व्यापारी र उपभोक्ता दुबैमा सचेतना बढाएको दाबी गर्छन् ।
प्रतिक्रिया दिनुहोस्