काठमाडौं, भदौ १४ । आज ३० अगस्ट अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष ३० अगस्टका दिन यो दिवस मनाउने गरिन्छ ।
सन् १९८१ मा अमेरिकी मुलुक कोस्टा रिकाबाट यो दिवस मनाउन थालिएको हो । नेपालमा विगतमा भएको दश वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको थियो ।
२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरिँदा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनिए पनि ९ वर्षसम्म यो प्रतिबद्धता पुरा भएको छैन ।
राष्ट्रिय मानवअधिकार आयोगका अनुसार सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट ८ सय ४२ र तत्कालीन माओवादी विद्रोहीबाट १ सय ५२ व्यक्ति बेपत्ता पारिएको तथ्यांक छ ।
तर बेपत्ता परिवार समाजको तथ्यांकमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको संख्या १ हजार ९५ छ ।
आयोगले बलपूर्वक बेपत्तासम्बन्धी उजुरीको छानबिनका क्रममा देशका ९ स्थानमा शव उत्खनन् गरी अनुसन्धान गरिसकेको छ ।
अन्तर्राष्ट्रिय अभ्यासअनुरुप भएका त्यस्ता अनुसन्धानबाट बेपत्ता पारिएका व्यक्तिलाई मारेर गम्भीर मानवअधिकार उल्लंघन भएको तथ्य उजागर भएको जनाइएको छ ।
द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि ६ महिनाअघि वेपत्ता नागरिक छानविन आयोग गठन भएको छ ।
यो अवधिमा आयोगले आवश्यक पूर्वाधारको तयारी एवं उजुरी संकलन गरे पनि बेपत्ता व्यक्तिको छानबिन सुरु गर्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्