२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


काबेली करिडोरको काम नसकिँदा पाँचथरमा उत्पादित बिजुली बिक्री गर्न नसकिने


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, भदौ १४ । पाँचथरको फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेवाखोलामा निर्माण गरिएको हेवा ‘ए’ जलविद्युत् आयोजनाको काम सम्पन्न भइ विद्युत् उत्पादन सुरु भएपनि उत्पादित सबै विद्युत् बिक्री नहुने भएको छ ।

१३२ केभीए क्षमताको काबेली करिडोरको काम नसकिएकाले हेवा ‘ए’बाट उत्पादन भएको सम्पूर्ण विद्युत् बिक्री गर्न नसकिने भएको हो ।

३३ केभीए प्रशारणलाइनबाट बिजुली बिक्री गर्नुपर्ने भएकाले ९ मेगावाटमात्र विद्युत् बिक्री गर्न सकिने आयोजना निर्माण कम्पनी पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले बताए ।

काबेली करिडोरको काम सम्पन्न नहुँदा नोक्सानी बेहोनुपर्ने भएको ढुंगानाले बताए । करिडोरको काममा ढिलासुस्ती हुँदा पाँचथरमा उत्पादित बिजुली बिक्री गर्न नसक्ने स्थिति आएको उनको भनाइ छ ।

यहाँ उत्पादित बिजुली तत्कालका लागि ३३ केभीए प्रशारणलाइनमा जोडेर इलामबाटमात्र १३२ केभीए प्रशारणलाइनमा जोड्ने तयारी गरिएको छ ।

आयोजनाबाट उत्पादन भएको सम्पूर्ण विद्युत् बिक्री गर्न नपाउँदा वार्षिक १७ करोड घाटा हुने बताइएको छ । उक्त आयोजना निर्माणका लागि स्थानीय नागरिकको तीन करोड लगानी भएको छ ।

त्यस्तै, आयोजनामा कार्यरत् कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकको नेतृत्वमा अन्य ११ ओटा बैंकले लगानी गरेका छन् ।

७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य लगानीकर्ताले लगानी गरेका हुन् ।

३५ प्रतिशत यूबी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको, ३० प्रतिशत एक्सेस इन्भेस्टमेन्ट कम्पनीको, २० प्रतिशत मेगा भेन्चर प्रालिको र १५ प्रतिशत स्थानीय आगेजुङ विद्युत् कम्पनी लिमिटेडले लगानी गरेका हुन् ।

अहिले पूर्वको इलाम, पाँचथर र ताप्लेजुङमा निर्माण भइरहेका अधिकांश विद्युत् आयोजनाहरु प्रशारणलाइनको पर्खाइमा रहेका छन् ।

काबेली कोरिडोरको कछुवागतिको कामका कारण आयोजनाले उत्पादन गरेको विद्युत् जोड्न ढिलाइ भइरहेको आयोजनाहरुले जनाएका छन् ।