
काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले बुधबार प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।
प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री दाहालले काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गरेका थिए ।
जापानका राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाइ ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्तिप्रक्रिया, पुनःनिर्माण र सम्बृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताए ।
राज्यमन्त्री किसाइले काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति समर्थन गर्दै जापानको तर्फबाट रु १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएका थिए ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते राजधानीमा आयोजना हुने विशेष समारोहमा भाग लिन उनी नेपाल आएका हुन् ।
नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्तरूपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणकाक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्