४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025


विद्युत् प्राधिकरणको नाफा तीन अर्ब


0
Shares

काठमाडौं, चैत २९ । नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा करिब रु तीन अर्ब खुद नाफा गर्न सफल भएको छ ।

विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो ।

महालेखापरीक्षक कार्यालयले गरेको अन्तिम लेखापरीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो ।

महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनानुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष रु २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक छ ।

आव २०७२/७३ मा जगेडा तथा सञ्चित कोष रु २६ अर्ब ३३ करोड ४८ लाख ऋणात्मक थियो ।

गत वर्षको तुलनामा विद्युत् बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको पाइएको छ ।

विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव २०७४/७५ मा रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

वि.सं. २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण रु ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्यमात्रै नगरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् ।

घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आव २०७३/७४ मा प्राधिकरणले रु एक अर्ब ४६ करोड ७३ लाख खुद नाफा कमाएको थियो ।

आव २०७४/७५ मा नाफा बढेर झन्डै रु तीन अर्ब पुगेको छ । 

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिददरमा आएको कमी, मर्मत–सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौती अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।

प्राधिकरणको सेयर पुँजी रु एक खर्ब दुई अर्ब ४४ करोड, दीर्घकालीन दायित्व करिब रु एक खर्ब २० अर्ब ९५ करोड र चालू दायित्व करिब रु ८४ अर्ब ७८ करोडसमेत कुल पुँजी तथा दायित्व रु दुई खर्ब ८४ अर्ब ५७ करोड २१ लाख छ । रासस