एउटै सामानको मूल्य पसलै पिच्छे फरक, पोखरामा व्यापक मंहगी(भिडियो) • Image Khabar Image Khabar


एउटै सामानको मूल्य पसलै पिच्छे फरक, पोखरामा व्यापक मंहगी(भिडियो)


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार १९:३३

एउटै सामानको मूल्य पसलै पिच्छे फरक, पोखरामा व्यापक मंहगी(भिडियो)

-प्रदिप पौडेल, ईमेज

पोखरा, भदौ १६ । मुल्यवृद्धिलाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्ताको दैनिकी कठिन हुंँदै गएको छ ।

मुल्यवृद्धिको मार विपन्नदेखि सम्पन्न वर्गका परिवारलाई समेत परेको छ । पर्यटकीय नगरी पोखराका बासिन्दा पनि मूल्यबृद्धिको मारमा थलिएका छन् ।

चाडपर्व नजीकिदै जांदा पोखराका बजारमा उपभोग्य सामग्रीको मूल्य छोइ नसक्नु भएको छ । एउटै सामानको मूल्य पनि पसलै पिच्छे फरक फरक छ ।

तैपनि अनुगमन गर्नुपर्ने निकायले भने खासै चासो दिएको छैन । बजारमा अनुगमन गर्दा मुल्यसूची टाँसेको र म्याद गुज्रिएको हो कि होइन भन्ने मात्र अनुगमन गर्न टोली सिमित हुन्छन् ।

बजारमा दैनिक उपभोग्य सामग्री खाद्यान्न, तरकारी, लत्ताकपडा र निर्माण सामाग्री सबैको मूल्य आकासिएको छ । जिल्ला अनुगमन टोलीका सदस्य अनील साई भने प्रभावकारी अनुगमन भईरहेको दाबी गर्छन् ।

महँगीले धनी गरीब कसैलाई छोडेको छैन । यद्यपि, धनी वर्गलाई यसको खासै असर नपरे पनि सर्वसाधारणलाई भने बिहान बेलुका चुलो बाल्न नै धौ धौ भएको छ ।

मजदुरी गरी खाने त महँगीले भोकै मर्ने स्थिति आएको गुनासो गर्छन् । बजारमा महङ्गी बढ्नुमा सरकार नै जिम्मेवार रहेको सहकारी सञ्चालकहरु बताउँछन् । देशमा १० प्रतिशतसम्म मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

तर पर्यटकीय र लाहुरेको शहरको उपमा पाएको पोखरामा भने मूल्यवृद्धि उच्च छ । ब्यापारीले तरकारीमा समेत आफुखुशी मूल्य तोक्दा ७० रुपैयाँमा पाईने तरकारी १ सय १० रुपैयाँसम्म तिर्न बाध्य छन् ।

पोखराको कृषी उपज बजारस्थलमा भित्रिने तराकारी उपभोक्तासम्म आउँदा बिचौलियाले ७५ प्रतिशतसम्म फाईदा लिने गरेको भेटिन्छ ।

यसले गर्दा न कृषकले उचित मूल्य नै पाएका छन्, न त उपभोक्ताले नै बास्तविक मुल्यमा खरिद गर्न पाएका छन् ।

पोखरामा दैनिक ८० देखि ९० मेट्रिक टन तरकारी र ६० देखि ७५ मेट्रिक टन फलफुल आयात हुने गरेको कृषी उपज बजारस्थल सञ्चालक रुपा दाहालले जानकारी दिए । व्यसायीले आफूखुशी बजारभाउ तोक्ने र प्रशासन मूकदर्शक मात्र रहने गर्दा बेथिति बढेको हो ।

यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले उचित चासो र कदम नचाल्ने हो भने गरीबीको रेखामुनी बाँच्न विवश नागरिकका लागि राज्यको हुनुको औचित्य सकिने देखिँदै छ ।

प्रतिक्रिया दिनुहोस्