३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


भाइरलको प्रकोप बढ्यो


0
Shares

उदयपुर, भदौ १७ । केही दिनयता उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् ।

भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् । पचास शय्या क्षमताको जिल्ला अस्पतालमा अहिले अस्पतालको सबै सिट तथा शय्या भाइरलको बिरामीले भर्न थालेपछि अन्य बिरामीलाई शय्यामा राखेर उपचार गर्न अभाव हुन थालेको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विशाल देवले बताए ।

जिल्लाको पूर्वी क्षेत्रको हँडियाँ, सुन्दरपुर, जोगिदह, त्रियुगा नगरपालिका, साउने, खाँबु, मुर्कुचीलगायत लालपता क्षेत्रका विद्यालय जाने विद्यार्थीदेखि माथिल्लो उमेरका सबैलाई भाइरलले प्रभावित पार्न थालेको स्थानीयवासीले बताएका छन् ।

सुरुमा रुघाखोकी लाख्ने, ज्वरो आउने, नाकबाट पानी आउने र टाउको दुख्नेजस्ता लक्षणबाट बिरामी प्रभावित हुने गरेको त्रियुगा नगरपालिका–७ मोतिगडाका लोकनाथ खतिवडाले बताए । भाइरल फैलिनुमा वर्षाको कारण बाढी तथा फोहोर र प्रदूषित पानी, विभिन्न फोहोर दुर्गन्धित वस्तु हावामा फैलिएपछि श्वासप्रश्वासमा भाइरलको जीवाणुले प्रभावित पार्ने र शरीरमा प्रवेश गर्ने कारण मानिसमा भाइरलले प्रभावित पारेको चिकित्सक बताउँछन् ।

यस्तै यो सरुवा रोग भएको कारण एकबाट अर्कोमा सर्ने गरेको पनि चिकित्सकले बताएको छ । नेपाली महिलाको चाड तीज, दसैँ, तिहारजस्ता चाड नजिक आइरहेको बेला यस क्षेत्रमा भाइरलको प्रकोप बढ्दै गएपछि तीज मनाउने समयमा भाइरलको बिरामी भएर अस्पतालमा उपचारका लागि बस्न बाध्य हुन परेको एक बिरामी देवकी खत्री बताउँछिन् । (रासस)