शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य यी हुन् माओवादी नेता • Image Khabar Image Khabar


शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य यी हुन् माओवादी नेता


Imagekhabar
१७ भाद्र २०७३, शुक्रबार २२:५०

शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य यी हुन् माओवादी नेता

इलाम, भदौ १७ । सशस्त्रद्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन् ।

सशस्त्रद्वन्द्वकाक्रममा तत्कालीन सेनाले हानेको गोली लागेका इलाम, मंगलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन् ।

रामको दुबै खुट्टामा गोली लागेको थियो भने तेजबहादुरको दाहिने खुट्टामा एउटा गोली छ ।

‘जनताको न्यायका लागि युद्धमा होमियौं तर आज आफ्नै शरीरमा भएको गोली पनि निकाल्न नसक्ने स्थितिमा छौं’–रामले भने–‘उपचारका लागि धेरैतिर धायौं तर उपचार हुन सकेन ।’

तेजबहादुरलाई शान्तिपुर गाविसको बदमटारमा र रामलाई दोहोरो भिडन्तकाक्रममा चारओटा गोली लागेको थियो ।

‘गर्मी र चिसोको समयमा अत्यधिक दुख्छ, खप्नसमेत गाह्रो पर्छ, तेजबहादुरले आफ्नो पीडा सुनाउँदै भने–‘गोली निकाल्न धेरै जटिल र जोखिम व्यहोर्नुपर्छ भनेपछि शरीरमा बोक्न बाध्य छौं ।’

तेजबहादुरको खुट्टामा एलएमजीको गोली लागेको बताइएको छ । दुबैले गोली झिक्नका लागि धेरैतिर प्रयास गरेपनि अहिलेसम्म झिक्न सकेका छैनन् ।

अनि त्यसमाथि पनि झिकेपछि पनि स्वस्थ भइन्छ भन्ने कुनै निश्चित रहेनछ । डाक्टरले नै प्यारालाइसिस र क्यान्सरको सम्भावना हुन्छ भनेपछि गोली निकाल्न नमानेको रामले बताए ।

माओवादी केन्द्रका जिल्ला नेता उनीहरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेपनि पनि आफूहरूको उपचारमा सहयोग नभएको गुनासो गर्छन् ।

शान्ति स्थापना भएको एक दशक बितिसक्दासमेत सरकारबाट राहत र क्षतिपूर्ति केही नपाएको उनीहरूको दुःखेसो छ ।

आफूहरूले अब केही गर्न नसके पनि सरकारले द्वन्द्वपीडित र घाइतेहरूका बालबच्चाको उचित शिक्षादीक्षा, रोजगारीको अवस्था सिर्जना गर्न सकेमा द्वन्द्वमा लागेको घाउमा मलमपट्टी हुने रामले बताए ।

सशस्त्रद्वन्द्वकाक्रममा इलाममा १९७ जनाको मृत्यु, २९ जना अंगभंग भएका, ५८१ जना विस्थापित, ४० ओटा गाविस भवनसहित ७८ ओटा भौतिक संरचना क्षति, ४३४ जना बालबालिका प्रभावित भएको मानवअधिकार सञ्जाल तथा शान्ति कार्यसमूह (प्याग) नेपालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्