३० असार २०८२, सोमबार | Tue Jul 15 2025


मोदी र भारतीय जनता पार्टीको प्रचार गरेको भन्दै ‘नमो’ च्यानललाई निर्वाचन आयोगको निर्देशन


0
Shares

नयाँ दिल्ली, चैत २९ । भारतीय निर्वाचन आयोगले टेलिभिजन च्यानल ‘नमो’ले चुनावी आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।

आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई नमो टिभीका सामग्रीमा निगरानी गर्न आदेश दिएको छ । यो टेलिभिजनले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण तथा भारतीय जनता पार्टी (भाजपा) समर्थित सामग्री प्रसारण गर्दै आएको थियो । यसलाई निर्वाचन आयोगले ‘आचारसंहिता उल्लंघन’ भनेको हो ।

आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई कुनै पनि चुनावी सामग्री प्रमाणित नगरी प्रसारण नगर्न आदेश दिएको छ । मिडिया सर्टिफिकेसन एन्ड मोनिटरिङ कमिटीबाट प्रमाणित भएका सामग्रीमात्रै नमो टिभीबाट प्रसारण गर्न दिन निर्वाचन आयोगले भनेको छ ।

नमो टिभीमा प्रसारित सामग्री आफ्नो अनुमति बिना नै प्रसारण भएको पुष्टि दिल्ली निर्वाचन आयोगले गरेको थियो । नमो टिभी एक राजनीतिक पार्टीबाट प्रायोजित रहेकाले यसका सामग्रीमा नियमन गर्नुपर्ने निर्वाचन आयोगको भनाइ छ ।

अनुमति नलिई अहिले प्रसारण भइरहेका सामग्री तत्काल रोक्न पनि आयोगले निर्देशन दिएको छ । यो टेलिभिजन विरुद्ध कांग्रेस र आम आदमी पार्टीले चुनाव आयोगमा उजुरी दिएका थिए ।