२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


तीन करोड बराबरका अखाद्य बस्तु नष्ट, कालोबजारी गर्नेलाई सामाजिक वहिष्कार गर्ने चेतावनी


0
Shares

काठमाडौं, भदौ १९ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा जफत गरेको ३ करोड रुपैयाँ बराबरको अखाद्य बस्तु नष्ट गरेको छ ।

विभागले आइतबार आपूर्ति मन्त्री दिपक बोहराको उपस्थितिमा कीर्तिपुरस्थित सुन्दरीघाटमा अखाद्य एवं म्याद नाघेका बस्तुहरु नष्ट गरेको हो ।

बजार अनुगमनका क्रममा जफत गरिएको १ लाख ३१ हजार प्रकारका खाद्य बस्तु नष्ट गरिएको हो । विभागले गत साउन ३१ देखि भदौ १४ गतेसम्म विशेष बजार अनुगमन गरेको थियो ।

१ हजार ५० किलोग्राम मासु, ५ हजार ८ सय ५० लिटर घरेलु मदिरासहित ७ ट्रक अखाद्य बस्तुहरु नष्ट गरेको विभागले जनाएको छ ।

अखाद्य बस्तुहरु नष्ट गर्दै आपूर्ति मन्त्री बोहराले कालोबजारी गर्नेहरुलाई सामाजिक बहिष्कारसहित कडा कारबाही गर्ने चेतावनी दिए । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कानूनको संशोधन गरेर कडा कारबाही गरिने उनले बताए ।

बजार अनुगमनमा विभागले डिपार्टमेन्टल स्टोर, औषधी पसल, रेष्टुरेन्ट, सवारी साधन, उद्योग लगायतका ४ सय ७ वटा फर्मलाई कारबाही गरेको थियो ।

मन्त्रालयका सचिव श्रीधर सापकोटाले बजार अनुगमनलाई प्रभावकारी रुपमा तीब्रता दिने बताए । छरिएर रहेका कानूनलाई एकीकृत गरी कारबाही गर्नुपर्ने संयन्त्र निर्माण गर्न सैद्धान्तिक आधार तयार भइसकेको उनले उल्लेख गरे ।

विभागका महानिर्देशक गोकुलप्रसाद धितालले अनुगमनका क्रममा सबैभन्दा धेरै मेगामार्ट प्रालि, सेलवेज र युनाइटेड डिस्ट्रिव्युटर्सबाट मात्रै ६७ लाख रुपैयाँ बराबरका सामग्री जफत गरि नष्ट गरिएको बताए ।