१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


आन्दोलन रोकी वार्तामा बस्न आन्दोलनरत् चिकित्सकलाई सरकारको आग्रह


0
Shares

काठमाडौं, चैत २८ । सरकारले आन्दोलनरत् चिकित्सकहरुलाई आन्दोलन रोकी वार्तामा बस्न आग्रह गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा चिकित्सकहरुले गरेको आन्दोलन ठीक नभएको भन्दै वार्तामार्फत् समस्याको समाधान खोज्न आग्रह गरे ।

मन्त्री बाँस्कोटाले समायोजन प्रक्रिया कुनैपनि हालतमा नरोकिने भन्दै केही अप्ठ्यारा भए समाधानका लागि सरकार तयार रहेको स्पस्ट पारे ।

सन्चारमन्त्री बाँस्कोटाले नेपालले स्वतन्त्र तिब्बत अभियानलाई कहिल्यै साथ नदिने बताउँदै जहिले पनि एक चीन नीतिको पक्षमा रहेको बताए ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले वर्षायाम सुरु हुनुअगावै विपद् प्रभावितहरुको क्षतिग्रस्त एवं उजाड भएका घरहरुको पुनःनिर्माण गर्ने व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।

ती घर निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यस्तै, प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक बिदाहरुमा संघीय सरकारअन्तर्गत्का कार्यालयमासमेत बिदा दिने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले पाँच विकास क्षेत्रअन्तर्गत्का क्षेत्रीय प्रशासन कार्यालयहरु धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई खारेज गरेको छ । ती कार्यालयका सम्पत्ति प्रदेश मन्त्रिपरिषदको कार्यालयलाई हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ ।