२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


छ्या,शिक्षिका पो !


0
Shares

 रीश्मा थापा-

प्रायः मेरो यात्रा सार्वजनिक सवारी साधनमै हुने गर्छ । बिहान साँझ यात्रुले खचाखच भरिएको गाडीमा यात्रा गर्नु पनि आजकल मज्जै लाग्छ मलाई । रत्नपार्कबाट माइक्रो चढेँ । ओर्लिनुपर्ने थियो कलंकीमा । एउटी दिदी कालीमाटीमा आर्लिनेबित्तिकै हतार हतार महिला सीटमा  सोचेँ । सीटमा बसेर यात्रागर्न त मौका नै छोप्नुपर्छ भन्या । खै किनहो ,हिजो कालीमाटीबाट माइक्रोबसखाली जस्तै भयो । एक युवक मेरो छेवैको सीटमा बसे । मनमनै सोचँ —अहो ! कस्तो मान्छे रहेछ, महिला सीटमै आएर थ्याच्च बस्यो । आखिर पछाडि अरु सीट पनि खालि नै छन् । माथि ‘महिला सीट’भनेर लेखेको हेर्न नभ्याएको हो या जानीजानी बस्या हो ? कि त उसैलाई थाहा होला कि त भगवान्लाई ।
परिचालकले ‘जाम्जाम् गुरुजी !’ भन्नासाथ कालीमाटीबाट माइक्रोबस जसै अगाडि बढ्यो अनि सुरु भयो छेवैका ती युवकको प्रश्नको सिलसिला :
 कहाँ झर्नु हुन्छ तपाईं ?
– कलंकी
मैले ठस्के पाराले जवाफ फर्काएँ ।
के गर्नुहुन्छ ?
– पढ्दै
 कतिमा?
 – बाह्रमा
कुन फ्याकल्टी ?
 – शिक्षा
यस्तै यस्तै उसले प्रश्न गरि रह्यो । मैले जवाफ दिँदै गएँ ।
उसले फेरि प्रश्न थप्यो :
 अनि जिन्दगीको एमचाहिँ के त ?
– एउटी असल शिक्षिका बन्ने  ।
“छ्याः,शिक्षिका पो !”
उसको यो भनाइले मलाई किनकिन झनक्क रिस उठ्यो । अहिलेसम्म अनुहारनै नहेरी, मन नलाई नलाई उसका प्रश्नहरूको जवाफ फर्काइरहेकी थिएँ ।
यसपालि उसलाई नै प्रतिप्रश्न गरेँ:
 किन?
 – उसले जवाफ दियो
 ‘ल, हाम्रा सर मेमहरूहरुलाई देखेको छैनौ ? जहिल्यै पनि कुवाको भ्यागुता कुवाको कुवामै । शिक्षण पेशाबाट आजसम्म कोही उँभो लागेको छ ? पढाएर मात्रै सन्तुष्ट हुने ठाउँ नै देख्दिन म त ।”
उसले यस्तो भनिरहँदा उसको अनुहारमा घमण्ड प्रचुर मात्रामा देखिन्थ्यो ।
उसका प्रश्नै प्रश्नले केही समय अगाडिदेखि नै मलाई चिढ्याइरहेको थियो । उसको यो कुरा सुनेर मन थाम्नै सकिन र जवाफ फर्काएँ , त्यो पनि उसकै शैलीमाः
“जब तिमीलाई आमाबाबुले ताते ताते गरेर हिँड्न सिकाए , त्यसैगरी तिम्रा शिक्षक शिक्षिकाले तिमीलाई कखगघ, एबीसीडी र बाह्रखरी सिकाए । कलम समाउन नजान्ने हात समाएर लेख्न सिकाए । सही मार्गदर्शन दिए । निद्रा, खेल र साथीभाईलाई दिएको समय भन्दा बाहेकको समयलाई हिसाब गर त , तिमीले आमाबाबुसँग कति समय बितायौ ? त्योभन्दा बढी समय त तिमी स्कुलको काखमा रह्यौ । तिनै शिक्षक शिक्षिकाको छत्रछायामा रह्यौ । आज तिमी जे छौ, त्यो हुनुमा तिमी र तिम्रो परिवारको भन्दा बढी भूमिका तिम्रा तिनै शिक्षक शिक्षिकाको छ । अझ तिमी भन्दै छौ — छ्याः,शिक्षिका पो ! “
मैले यसो भनिरहँदा उसले अवाक् भएर मलाई नै हेरिरहेको थियो । मैले थप्दै गएँ :
– रह्यो कुरा आखिर के पाउँछन् ?
यसको जवाफ तिमीले तिम्रो रिजल्ट राम्रो आएको वेला ती गुरुहरुको मुहारमा हेरेको भए थाहा पाउँथ्यौ ,…आफूले कखगघ र एबीसीडी सिकाएका विद्यार्थी कुनै उच्च ओहोदामा पुगेको खबर कानमा आइपुग्दा उनीहरूको मुहारमा छाएको चमक पढ्न सकेको भए थाहा पाउँथ्यौ …..
यत्ति भन्दाभन्दै माइक्रो बस कलंकीको बस स्टपमा पुगिसकेको थियो । भाडा तिरेर म आफ्नो बाटो लागेँ। घर पुगिञ्जेलसम्म पनि ती युवकका बेतुका प्रश्नहरूले मेरो मन मस्तिष्क खलबलाइरहेको थियो अनि ती युवकको दरिद्र सोच प्रति दयाका भाव पलाइरहेको थियो ।